रसुवा । रसुवाको उत्तरगया गाउँपालिका वडा नं. २ र ३ का तिनवटा सामुदायिक वन उपभोक्ता समुहको वन कार्ययोजना तयार गरी हस्तान्तरण गरिएको छ । उत्तरगया गाउँपालिका ३ का वडा अध्यक्ष लालबहादुर लामा तामाङ, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय कोषाध्यक्ष शान्ता न्यौपाने र दिगो वन विकास संयोजक अर्जुन चापागाइले संयुक्तरुपमा ३ वटा वन कार्ययोजना हस्तान्तरण गरेका हुन् ।
महासंघको सहयोगमा तयार भएको तथा डिभिजन वन कार्यालय रसुवाले प्रमाणिकरण गरेको गणेशढुङ्गा सामुदायिक वनका अध्यक्ष नरबहादुर गुरुङ, कोरेली गौथली सामुदायिक वनका अध्यक्ष सिंगबहादुर तामाङ र छागाटुप्पा सामुदायिक वन उपभोक्ता समुहका बहादुर तामाङलाई संयुक्त रुपमा वन कार्य योजना हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरित कार्य योजना बुझ्दै छागाटुप्पा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बहादुर तामाङले जीवनभर आफूहरुले जतन साथ हुर्काएको वनको अव नेतृत्व हस्तान्तरण गर्ने बताउनुभयो । ‘बिधान संसोधन तथा कार्ययाजना नविकरण भयो अव नेतृत्व हस्तान्तरण गर्छु’, उनले भने ।
कार्ययोजना हस्तान्तरण पछि भएको अन्तक्रियामा सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर गुरुङले समुदायकै सहभागीतामा बनेको भएपनि कार्य योजना सवैले राम्ररी पढ्नुपर्ने बताए । वडा अध्यक्ष लामाले सामुदायिक वन उपभोक्ता महासंघले बाकी रहेका म्याद सकिएका अरु वन समुहको पनि कार्ययोजना निर्माणमा सहयोग गरिदिन अनुरोध गरे ।
केन्द्रीय कोषाध्यक्ष न्यौपानेले उपभोक्ता समुहको छाता संगठन भएको नाताले महासंघले स्थानीयको अधिकारका बारे पैरवी तथा आन्दोलन गर्दै आएको बताइन् । दिगो वन विकास कार्यक्रम संयोजक चापागाइले महासंघले देशभरका १२७ वटा स्थानीय तहका केही सामुदायिक वनमा सानो सहयोग गरेको बताउँदै सामुदायिक वन संरक्षणमा स्थानीय समुदायको ठूलो भूमिका रहेको र दिगो वन व्यवस्थापन तथा वनमा आधारित आयआर्जन मुलक काममा ध्यान दिनुपर्ने बताए ।




