निजगढ । गत फागुन १४ गते निजगढ नगरपालिका ७ स्थित रोहित वर्कशपमा अज्ञात वस्तु काट्ने क्रममा भएको विष्फोटको घटनामा बारा जिल्ला अदालतको आदेशमा तीन जना जेल चलान भएका छन् भने दुई जना धरौटी बुझाएर तारिखमा रिहा भएका छन् ।
वर्कशप सञ्चालक मृतक रेशम मगरकी पत्नी सीता जर्गामगरले दिएको जाहेरीमा वादी नेपाल सरकार र प्रतिवादी भारत मोतिहारी घर भई हाल निजगढ नपा–९ शहीद चोकमा व्यापार गर्ने ४० वर्षीय रमेश जयसवाल, टीकाराम पाख्रिन, वासु तामाङ, सर्लाही जिल्ला ईश्वरपुुर नगरपालिका–७ घर भई हाल धारापानी धनुषामा कबाडी सङ्कलन गर्दै आइरहेका पसल साहु शिवशङ्कर साह र सोही ठाउँका अर्का कबाडी ब्यापारी बिलट महत्तोविरुद्ध ज्यान सम्बन्धी कसूर मुद्दामा रमेश जयसवाल भारतीय नागरिक भएकाले निजलाई पुर्पक्षका लागि कारागार चलान गर्ने र बाँकी चार जनालाई जनही एक एक लाख धरौटी लिएर तारेखमा रिहा गर्न बारा जिल्ला अदालतका न्यायाधीश जगन्नाथ पौडेलको इजलासले आदेश गरेको थियो ।
दुई जना धरौटी बापतको रकम बुझाएर तारेखमा रिहा भए भने दुई जना धरौटी बुझाउन नसकेर कारागार चलान भएको बारा जिल्ला अदालतका श्रेस्तेदार लालबहादुुर कार्कीले बताए । यो घटनामा तीन जनाको मृत्यु भएको थियो । घटनामा परी दाहिने हात र देब्रे खुुट्टा गुमाएका भारतीय नागरिक १६ वर्षीय अरविन्द साहको नेशनल मेडिकल कलेजमा अहिलेसम्म उपचार भइरहेको छ ।




