काठमाडौं । वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै रु छ करोड १९ लाख ३२ हजार ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा कमल गाउँपालिका ७ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ७ बस्ने ३७ वर्षीय केदार चौधरी, बाँके कोहलपुर नगरपालिका १० घर भई हाल काठमाडौं टोखा बस्ने ३२ वर्षीय जीवराज केसी र म्याग्दी गाउँपालिका १ घर भई हाल कास्की पोखरा महानगरपालिका ६ लेकसाइड बस्ने ३८ वर्षीय नन्ददेवी पुन रहेका छन् ।
केदार चौधरीले युके पठाइदिने भन्दै ३०/३५ जना व्यक्तिबाट रु ९ लाखदेखि २० लाखसम्म उठाई भारतका विभिन्न स्थानमा आइआरआइएस एक्सप्रेस कन्सल्टेन्सीमार्फत काम गर्ने भनी अजरबैजानसम्म पुर्याई पीडितबाट करिब रु ६ करोड लिई फरार भएका थिए ।
त्यसैगरी, जीवराज केसीले फ्रान्स पठाइदिने भन्दै रु ११ लाख ६५ हजार ठगी गरेको र नन्ददेवी पुनले युके पठाइदिने भन्दै रु ७ लाख ६७ हजार ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलले बताए ।
उनीहरुलाइ सोमबार पक्राउ गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज सार्वजनिक गरेको हो । पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरी उपरिक्षक पोखरेलले बताए ।




