पश्चिम नवलपरासी । जन्मदिन मनाउने आआफ्नो शैली हुन्छन् । कतिपयले आफ्नै तौरतरिका अनुसार आफ्नो जन्मदिन मनाउने गरेको पाइन्छ । कोहीले ठूलो ठूलो भोजभतेर, पार्टी फंशन गरेर फजुल खर्च गरेको पाइन्छ भने कतिपयले सामुदायमा रहेका असहायलाई सहयोग गरेर मनाएका हुन्छन् । कतिपयले विद्यार्थीलाई कलम कापी झोला वितरण गरेर आफ्नो जन्मदिन मनाएका हुन्छन् ।
पछिल्लो समय भने जन्मदिन मनाउने तरिका अलि मोडिएको पाइन्छ । यसै क्रममा पश्चिम नवलपरासीका एक युवा व्यवसायीले आफ्नो छोरीको जन्मदिनको अवसरमा पाल्हिनन्दन गाउँपालिका वडा नं. ५ विष्णुपुरामा रहेको राधाकृष्ण मन्दिरका व्यवस्थापन समितिका अध्यक्ष राजाराम गुप्तालाई ५५ हजार ५ सय ५५ रुपैयाको चेक हस्तान्तरण गरेर आफ्नो छोरी त्रिशु अग्रहरिको जन्मदिन मनाएका छन् ।
उहाँले विष्णुपुरामा रहेको राधाकृष्ण मन्दिरलाई रंगरोगन सहित थप व्यवस्थित बनाउन सहयोग गरेको बताउनु भयो । आफ्नो सानो सहयोगले मन्दिर व्यवस्थापनमा थोरै भएपनि सहयोग पुगोस भनेर सहयोग गर्न लागेको उहाँको भनाई छ । अग्रहरि उद्योग वाणिाज्य संघ नवलपरासीका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । उनलाई मनकारीको रुपमा समेत चिनिन्छ । उहाँको छोरीको जन्मदिन चैत २९ गते रहेको थियो ।




