सर्लाही । सर्लाही सदरमुकाम मलंगवाका युवाहरुले अनियमित विद्युत कटौति बारे हिजो आइतबार नेपाल विद्युत प्राधिकरणको मलंगवा वितरण केन्द्रमा ध्यानाकर्षण गराएका छन् ।
केही दिनदेखि अत्यधिक गर्मी र चर्को घाम भइरहेको समयमा छिनछिनमै बत्ती काट्दा जनजीवन कष्टकर भएको भन्दै युवाहरुको जमात प्राधिकरण कार्यालयमा पुगेर ध्यानाकर्षण गराएका हुन् ।
त्यस क्रममा प्राधिकरणको मलंगवा वितरण केन्द्रका प्रमुख विनोद यादवले कार्यालयसँग भएका सीमित स्रोत साधन र संरचनाबाट समस्या समाधानका लागि प्रयास गरिरहने प्रतिवद्धता जनाएका छन् ।
वितरण केन्द्र प्रमुख यादवसँगको छलफलमा आगामी वुधवारसम्म अघोषित लोडसेडिड अन्त्य र विद्युत सम्वन्धी समस्या समाधान गर्ने, मर्मत सम्भारका लागि लाईन काट्नु परेमा ग्राहकहरुलाई अगाडि नै जानकारी दिने बताएका छन् ।
त्यस्तै सर्वसाधारणले बत्ती जाँदा भोग्नु परिरहेको छटपटिको अनुभूति गर्न प्राधिकरणका प्रमुख र अन्य कर्मचारीको निवासमा बत्ती गएको बेला जेनेरेटर लगायत अन्य वैकल्पिक उर्जाको प्रयोग नगर्ने सहमती भएको ध्यानाकर्षण पत्र बुझाउन पुग्नु भएका युवा समिम बाबु पठानले जानकारी दिए ।
यस्तै, हिजै आईतबार नै लालबन्दीका व्यापारीहरुले अनियमित विद्युत कटौतिले व्यापार व्यवसाय र उद्योगहरु प्रभावित भएको भन्दै नेपाल विद्युत प्राधिकरणको लालबन्दी वितरण केन्द्रमा ध्यानाकर्षण गराएका छन् ।
उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याणकुमार जोशीले लालबन्दी वितरण केन्द्रका प्रमुख सुधिर कुमार रायलाई ज्ञापन पत्र बुझाउँदै विद्युत नियमित गर्न माग गरेका हुन् ।
सर्लाहीमा अघोषित लोडसेडिङ हुँदा सर्वसाधारण आजित भइरहेका छन् । प्राधिकरणले भने हावाहुरी, गर्मीमा पंखा, फ्रीज, एसी जस्ता विद्युतीय उपकरण बढी चल्दा लोड थेग्न नसकेर र विद्युतका संरचना पुराना रहेका तर ग्राहकहरु बर्सेनि ठूलो संख्यामा बढिरहेकाले विद्युत नियमित गर्न नसकिएको बताउँदै आएको छ ।
अहिलेको पुराना विद्युत संरचनालाई लोड थेग्न मुस्किल परिरहेको र हालको जस्तो समस्या अब बर्खाभरी नै रहने सक्ने प्राविधिकहरुले बताएका छन् । नवलपुरमा बनिरहेको सवस्टेशन बनेपछि भने अहिलेका जस्तो समस्या नहुने बताइएको छ ।
यता समुदाय स्तरमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पदमुक्त भएपछि विद्युतमा धेरै समस्या आएको भन्दै चर्चा हुने गरेको छ । यसैबीच, सर्लाहीमा अब रौतहटको चन्द्रनिगाहपुर र धनुषाको ढल्केबरमा रहेका सवस्टेशनबाट बिजुली प्रवाह हुने गरेको छ ।
अहिलेको समस्या तत्काल समाधानका लागि चपुरबाट ल्याइएको ३३ केभी लाईन मलंगवासहित पश्चिमी बेल्टमा र ढल्केबरबाट ल्याइएको लाईन जिल्लाको पूर्वी भेगमा प्रवाह गरिने प्राधिकरणले जनाएको छ ।
ढल्केबर पटीको लाईन लालबन्दी, बयलवासलगायत क्षेत्रमा प्रवाह गरी टेष्टिङ भइरहेकाले विद्युतीय उपकरण र सरसामग्री प्रयोगमा ध्यान दिन प्राधिकरणले आग्रह गरेको छ ।




