सर्लाही । धार्मिक तथा सामाजिक सहिष्णुता कायम गराउन माग गर्दै सर्लाहीको हरिपुरमा स्थानीयले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । गुस्ताखे रसुललाई कारवाही गर, धार्मिक तथा सामाजिक सहिष्णुता कायम गर भन्दै हरिपुर नगरपालिकाका स्थानीयले प्रदर्शन गरेका हुन् ।
हरिपुर नगरपालिका ६ का निवर्तमान वडा अध्यक्ष ईदि मन्सुरको नेतृत्वमा र्याली सहित निस्केका स्थानीयले ईलाका प्रहरी कार्यालय हरिपुरमा ज्ञापन पत्र समेत बुझाएका छन् ।
ईस्लामिक धर्ममाथि आघात पुग्ने गरि सामाजिक सञ्जालमा अनावश्यक कुराहरु लेखेको भन्दै आफूहरुले विरोध गरेको हरिपुर नगरपालिका ६ का निवर्तमान वडा अध्यक्ष एवम् आन्दोलनका अगुवा ईदि मन्सुरले बताए ।
उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक र सामाजिक सहिष्णुता भएको देश भएपनि केहि मानिसले यसलाई धार्मिक तथा सामाजिक युद्धको रुपमा लिन खोजेको तर आफूहरुले हिस्सा नचाहेको कारण शान्तिपुर्ण रुपमा प्रदर्शनमा उत्रिनु परेको बताए ।
पहिलो चरणमा आफूहरुले धार्मिक तथा साँस्कृतिक सद्भाव कायम गराउन आग्रह गर्दै ज्ञापन पत्र बुझाएको र यसलाई प्रहरी प्रशासनले वेवास्था गरे कडा रुपमा आन्दोलनमा उत्रने ओल्मा काउन्सिल सर्लाहीका अध्यक्ष मोहमद रजाउल्लाहले बताए ।
यस्तै कुनै जात, धर्म, लिङ्ग तथा समुदायका विषयमा अन्य मानिसले सामाजिक सञ्जालमा गरेको कुप्रचार प्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको मो. रहमत अलिले बताए ।




