रौतहट । प्रादेशिक अस्पताल गौरमा रेबिजविरुद्धको खोपको अभाव भएको छ । अस्पतालमा एक महिनादेखि खोपको अभाव भएको हो । प्रदेशबाट पठाउने गरेको रेबिजविरुद्धको खोप एक महिनादेखि नपठाएकोले खोपको अभाव भएको प्रादेशिक अस्पताल गौरले जनाएको छ ।
प्रदेशबाट महिनामा २५० भाइल रेबिजविरुद्धको खोप आउने गरेपनि तीन हप्तामैं सकिने गरेको अस्पतालले जनाएको छ । माग अनुसार खोप नआएका कारण सधैं अभाव हुने गरेको छ ।
बहुला कुकुरले टोक्दा लगाउने एन्टिरेबिज खोप स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्र मधेस प्रदेश जनकपुरले वितरण गर्ने गरेको छ । दैनिक १५ देखि २० जना कुकुरले टोकेका बिरामीहरू अस्पताल आउने गरेको अस्पतालको आकस्मिक विभागले जनाएको छ ।
रेबिजविरुद्धको खोप सरकारले निशुल्क प्रदान गर्दछ । तर, स्थानीय स्वास्थ्य संस्थाले व्यवस्थापन खर्च बापत रकम लिने गरेको छन् । अस्पतालमा रेबिजविरुद्धको खोप नपाउँदा बिरामीहरूले निजी क्लिनिकबाट चर्को मूल्य तिरेर किन्नुपर्ने बाध्यता छ ।




