काठमाडौं । काठ चिर्ने आराले घाँटी काटिएको अवस्थामा एक जना युवक फेला परेका छन् । धादिङको खनियाबास गाउँपालिका १ झार्लाङमा नेत्रावती गाउँपालिका ५ कटुञ्जेका ईश्वर गुरुङ घाइते अवस्थामा फेला परेका हुन् ।
हिजो राति करिब १ बजे घटना घटेको स्थानीय मनिष तामाङले जानकारी दिए । तामाङका अनुसार घाँटीको रुद्रीघण्टी आराले काटिएको अवस्थामा भेटिएको हो । उनको घाँटीमा ठूलो चोट लागेकोले बोल्न सक्दैनन् ।
घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले बताए । उनले भने, ‘अहिले घाइतेको उद्धारमा लागेका छौं । अनुसन्धानपछि मात्रै थप जानकारी आउनेछ ।’




