वीरगंज । नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रबाट प्रवाह हुने विद्युत् सेवा अनियमित बन्दै गएको उपभोक्ताहरूले गुनासो गरेका छन् । मासिक उठ्ने बिल एवम् जरिवानामा कुनै सम्झौता नगर्ने वितरण केन्द्रले विद्युत् सेवालाई प्रभावकारीरूपमा अगाडि बढाउन नसक्दा उपभोक्ताहरू मर्कामा परेका हुन् ।
अहिलेको गर्मीमा छिनछिनमा विद्युत् सेवा अवरोध भइरहने, हावा चल्दा विद्युत् ट्रिपिङ हुने, अघोषित आधा एक घण्टाको लोडसेडिङ जस्ता समस्याले गर्दा वितरण केन्द्रको चौतर्फी आलोचना हुन थालेको छ ।
वितरण केन्द्रको फोनमा ‘किन लाइन कटेको’, ‘कति बेला लाइन आउँछ’लगायतका आशा बोकेर उपभोक्ताले फोन गर्दा समेत ल्यान्डलाइन फोन नलाग्ने, लागे पनि नउठ्ने जस्ता कार्यले गर्दा वीरगंज वितरण केन्द्रले जिम्मेवार कार्यालयको रूपमा काम गर्न नसकेको उपभोक्ताहरूको गुनासो छ ।
वितरण केन्द्रलाई नियमन गर्ने निकायले यस्ता समस्याहरू समाधान गरी प्रभावकारी सेवा उपलब्ध गराउनु पर्ने उपभोक्ताहरूले माग गरेका छन् । यस सम्बन्धमा प्राधिकरणले भने विद्युत् आपूर्तिमा कमी आएको जनाउँदै आपूर्ति नियमित गर्न प्रयासरत रहेको जनाएको छ ।




