एजेन्सी । जब व्यक्तिले आफ्नो धैर्य र साहस गुमाउँछ, त्यतिखेर रिस प्रकट हुन्छ । यसको अर्थ वास्तविक शक्ति भनेका साहस, धैर्य र सहनशीलता हुन् र सहने मानिसलाई कसैले जित्न सक्दैन भने असहिष्णु मानिस सबैद्वारा पराजित हुन पुग्दछ ।
साना केटाकेटीहरु जब अरुसँग हार्दछन् तब उनीहरु आफू अगाडी जे छ त्यसैले हिर्काइहाल्छन् किनकी रिसाउनु भनेको आफू कमजोर र असहाय हुनु हो ।
रिसाउनु बहादुरी होइन, कमजोरी हो । जसले आफूभित्र चलेको क्रोधको सुनामीलाई धैर्य र विवेकका सहारामा नियन्त्रित गर्ने क्षमता र योग्यता राख्दछ त्यही व्यक्ति बहादुर हो ।
जसरी मसानघाटको चितामाथि जलिरहेको आगोले मृत शरीरलाई खरानीमा बदलिदिन्छ, त्यसरी नै हामी भित्रको रिसले पनि जिउँदै हामीलाई मारिरहेको हुन्छ । जब हामी रिसाउँछौं, तब हामीमा भएको दया, धैर्य, क्षमा, करूणाजस्ता दिव्य गुणहरु समाप्त भएर जान्छ ।
रिस जति सजिलै देखा पर्दछ, त्यति नै छिटो हामी शारिरिक रुपमा कमजोरी महसुस गर्न पुग्छौं । एक घन्टा रिसाउँदा हामीले बिहानदेखि बेलुकीसम्म शारीरिकरुपमा काम गर्दा शरीर जति थकित हुन्छ, त्योभन्दा धेरै थकित हुन्छौं ।
हामी नजिकका मान्छेहरूसँग किन रिसाउँछौं ?
मनोविज्ञानका प्राध्यापक डेबोरा साउथ रिचार्डसनले गरेको एक अनुसन्धानले मानिसको यस्तो किसिमको व्यवहारको वैज्ञानिक कारण बाहिर ल्याएका छन् ।
जसअनुसार हामी आफूले चिनेका या माया गर्ने नजिकका मान्छेहरूसँग सजिलै खुल्छौं, रिसाउँछौं । तर यसको ठिक उल्टो, टाढाको मान्छेसँग भने बस फिस्स मुस्कुराउँछौं मात्र । न त्यति रिसाउँछौं, न त्यतिसारो खुलेर कुरा गर्छौं ।
पहिलो कारण
नजिकको सम्बन्धमा हामी के सोच्छौं भने सानो कुनै मनमुटावले यहाँ त्यस्तो केहि समस्या आउन सक्दैन । किनकि यो सम्बन्ध लामो समयको साथ, सहयोग र प्रेमले बनेको हुन्छ । जसले गर्दा हल्का रिसाउँदैमा, चर्को बोल्दैमा सम्बन्धमा आँच आउने सम्भावना निकै कम रहन्छ । त्यसैले हामी हाम्रा नजिकका मान्छेसँग आफ्ना सबै पाटा खुलाउन हिच किचाउँदैनौं, चाहे नराम्रा पाटा नै किन नहोउन् ।
दोस्रो कारण
हामी नयाँ मान्छेसँग खुल्न अलि असहज महसुस गर्छौं । किनकि हामीलाई उसको बारेमा त्यति थाहा हुँदैन । साथै, उसँग त्यति साझा अनुभुतिहरू पनि नहुने भएकाले हामी सक्दो औपचारिक हुन्छौं ।
अर्को कुरा, नयाँ मान्छेले केहि भनिहाले पनि हामी ‘एकैछिनका लागि त हो हाम्रो सम्बन्ध’ भनेर टारिदिन्छौं । तर, नजिकको सम्बन्धमा भने अलिकति केहि आफू अनुसारको नहुने बित्तिकै बोलिहाल्छौं । जसले गर्दा थोरै बोलाबोलको स्थिति पनि नजिककोमा सामान्य जस्तो हुने गर्छ ।
तेस्रो कारण
हामी आफ्नो नजिकका मान्छेहरूको नराम्रो बानीहरू त्यति सहन सक्दैनौं । हामीमा उनीहरूका कुरालाई स्वीकार्ने ‘पाचन क्षमता’ गुमिसकेको हुन्छ । तर, टाढाको या नयाँ मान्छेको कुनै नराम्रो बानी भने सजिलै पचाइदिन सक्छौं ।
समाधान के त ?
कहिले काहि प्रियजनसँगको दुरी बढाउने । कतै टाढा जाने, केहि दिनका लागि । यसले गर्दा सम्बन्धमा ताजापन आइरहन्छ । प्रियजनसँग कहिले काहि साथीभाइ या आफन्तसँग सँगै भेट्ने । ताकि आफ्नो नराम्रो स्वभाव प्रस्तुत गर्न अलिक अप्ठेरो लागोस् ।






