सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवामा घरको छतबाट खसेर एक पुरुषको ज्यान गएको छ । आज बिहानीपख घरको छतबाट खसेर गम्भीर घाइते भएका अन्दाजी ४५ वर्षीय सन्तोष राउतको उपचारका क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मलङ्गवा नगरपालिका १० का राउत मलङ्गवा नगरपालिका ९ स्थित दिनेश राउतको घरमा भाडामा बस्दै आएका थिए । अत्यधिक गर्मीका कारण शीतल खोज्दै छतमा सुतेका कारण लडेको हुन सक्ने प्रहरीको अनुमान छ ।
उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रनाउ दीपक श्रेष्ठले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




