रौतहट । रौतहटमा प्रहरी गस्ती टोलीले स्थानिय कटहरिया नगरपालिका स्थित लागूऔषध गाँजासहित बारा निजगढका एक दम्पतीलाई पक्राउ गरेको छ ।
गाँजासहित पक्राउ पर्नेमा बारा निजगढ नगरपालिका १ बजार टोलका अटो रिक्सा चालक वर्ष ४२ को अनन्त बराइली र निजको श्रीमती वर्ष ३५ की मन्जु बराइली रहेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताइन् ।
कटहरिया २ स्थित अस्थायी प्रहरी पोष्ट छेदिचौकबाट खटिएको गस्ती टोलीले विशेष सूचनाको आधारमा वडा नम्बर २ छेदिचौकमा प्र २-०३-००१ ह ३१५ नम्बरको अटोलाई चेकजाँच गर्दा सिटमुनि रातो झोलामा लुकाई ल्याएको १० किलो ५ सय ग्राम गाँजा बरामद गरेको थियो ।
बरामद गाँजासँगै प्रहरीले अटो चालक अनन्त र निजको श्रीमती मन्जुलाई पक्राउ गरेको छ । गाँजा, अटो र चालक दम्पतीलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडा पठाएको तथा थप अनुसन्धान भई रहको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।






