झापा । नेपाल भारत सिमा नाकामा प्रहरी र लागूऔषध कारोबारीबिच दोहोरो झडप हुँदा एक जना घाइते भएका छन् । झापा गाउँपालिका ३ स्थित कामाटोली सीमानाकामा लागूऔषध कारोबारीलाई पक्राउ गर्न खोज्ने क्रममा दोहोरो झडप हुँदा प्रहरीको गोली लागेर एक कारोबारी घाइते भएका हुन् ।
प्रहरीका अनुसार अन्दाजी ३२ वर्षका अबदुल रसिद मियाँको दाहिने खुट्टामा गोली लागी घाइते भएका हुन् । सोमबार साँझ ६ बजे स्थानीय अक्कलबहादु विश्वकर्माको घरमा लागूऔषधको कारोवार भइरहेको सूचनाका आधारमा प्रहरी पुग्दा घटना हुन पुगेको हो ।
जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीमाथि लागूऔषध कारोवारीमा संलनको समूहले दाउ र कुखुरीबाट प्रहार गरेका थिए । यससँगै प्रहरीले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
प्रहरीको गोली प्रहारबाट झापा गाउँपालिका ४ स्थित खैरवारी बस्ने वर्ष २५ को सरिफुल आलमको खुट्टाको तिघ्रा र पिडुलामा दुई राउण्ड गोली लागेको छ । घाइते मियाँलाई उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुरतर्फ लगिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनको साथबाट ११६ ग्राम ६० मिलिग्राम ब्राउनसुगर, दाउ १ थान, १ थान खुकुरी बरामद गरेको छ । घटना बारेमा थप अनुसन्धान भइरहेको छ । झापा गाउँपालिका ३ स्थित कामाटोलीमा लागूऔषध नियन्त्रण ब्युरोको प्रहरी नायब निरीक्षक बालकृष्ण संजेलको टोलीले गोली चलाएको हो ।
पक्राउ गर्न खोज्ने क्रममा प्रहरीमाथि नै आक्रमण भएपछि सुरुमा पाँच राउन्ड हवाई फायर गरिएको हो । प्रहरीमाथि आक्रमण नरोकिएपछि प्रहरीले एक राउन्ड गोली प्रहार गरी कारोबारीलाई पक्राउ गरिएको ब्युरोका एसएसपी गोविन्द थपलियाले बताए ।




