बीबीसी । कोरोना भाइरस महामारीको अर्को लहर फैलिएको बेला खाडीका विभिन्न देश र मलेशियामा अलपत्र परेका नेपाली कामदारलाई स्वदेश फर्काउने काम अर्को हप्ताबाट सुरु गर्न सकिने कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रका प्रमुखले बीबीसीलाई बताएका छन् ।
कोभिड-१९ व्यवस्थापन निर्देशक समितिको बैठकले बुधवार गरेको निर्णय मन्त्रिपरिषद्ले अनुमोदन गरेलगत्तै कार्यान्वयन गरिने बालानन्द शर्माको भनाइ छ । उनका अनुसार सातामा २,००० यात्रुभन्दा नबढ्नेगरी हवाई उडान सञ्चालन गरिनेछ ।
शर्माका अनुसार सबै पक्षसँग समन्वय गरेर कामदारहरूलाई स्वदेश फर्काउने व्यवस्था प्रस्ताव गरिएको तथा अहिलेको निषेधाज्ञाको ढाँचालाई केही खुकुलो बनाउने तयारी भइरहेको छ ।
यसअघि नेपालले चार्टर्ड उडानलाई मात्रै अनुमति दिँदा श्रम गन्तव्य देशहरूमा रोजगारीको अवधि सकिएका वा अरू विभिन्न कारणले अलपत्र परेका कामदारलाई स्वदेश फर्किन गाह्रो भएका विवरणहरू आएका थिए ।
दुई साताअघि नेपालको नागरिक उड्डयन मन्त्रालयले चीन, कतार र टर्कीका विमानसेवालाई साताको एउटा उडानलाई अनुमति दिने निर्णय गरेको थियो । भारतसँग भने ‘एअर बबल’ व्यवस्थाअन्तर्गत उडानहरू भइरहेका छन् ।
सीसीएमसीको निर्णयले कुन कुन देशमा रहेका कामदार लाभान्वित हुन्छन् ?
सीसीएमसीका प्रमुख शर्माका अनुसार मुख्यतः खाडी क्षेत्र र मलेशियामा रहेका नेपाली कामदारलाई लक्षित गर्दै यो निर्णय गरिएको हो । निर्देशक समितिको निर्णयमा नेपाली श्रमिकहरू अधिक सङ्ख्यामा रहेका कतार, साउदी अरब, टर्की, यूएई, जापान र मलेशियाजस्ता देशमा हवाई उडान पुनः सञ्चालन गर्ने उल्लेख छ ।
ती देशबाट सातामा अधिकतम २,००० यात्रु ल्याउनेगरी उडान हुने भनिएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले उडानको सङ्ख्यामा वृद्धि हुनेबित्तिकै त्यसले श्रम गन्तव्यसँग जोडिएका यात्रुका सबालमा महत्त्वपूर्ण परिवर्तन गर्ने बताए ।
“अहिले टर्की र कतारमा उडान भइरहेको भए पनि हाम्रो श्रमिकहरूसँग जोडिएका अन्य देशमा उडान भइरहेका छैन । मैले जानकारी पाएअनुसार हामीलाई साउदी अरब र मलेशियामा उडान गर्न कुनै समस्या छैन । त्यहाँ उडानहरू नियमित हुनेबित्तिकै धेरै सहज हुन्छ ।”
उनले कोरोना भाइरसको दोस्रो लहर देखाउँदै दुबईले नेपालबाट उडानको अनुमति नदिएको जानकारी दिए । दक्षिण कोरियामा अहिले पनि चार्टर्ड उडान भइरहेको उल्लेख गर्दै उनले नियमित उडान नभएको बताए । नेपाल वायुसेवा निगमबाट हुने जापानको उडान पनि केही अवरुद्ध छ ।
सीसीएमसी निर्देशन समितिको निर्णय कहिलेबाट कार्यान्वयन हुन्छ ?
नागरिक उड्डयन प्राधिकरण, पर्यटन मन्त्रालय र होटेल व्यवसायीहरू सबैसँग समन्वय गरी प्रस्ताव तयार गरिएको भन्दै सीसीएमसी प्रमुख शर्माले मन्त्रिपरिषद्ले अनुमोदन गर्ने बित्तिकै यसको कार्यान्वयन हुने बताए ।
पर्यटन मन्त्रालयको नागरिक उड्डयन महाशाखाका प्रमुख बुद्धिसागर लामिछानेले आफूहरूले पनि क्रमशः अन्तर्राष्ट्रिय उडानहरू बढाउनुपर्ने धारणा राखिरहेको भन्दै सीसीएमसीको निर्णय मन्त्रालयमा आएपछि त्यसलाई हेरेर मन्त्रिपरिषद्मा पठाइने उल्लेख गरे ।
कैयौँ कामदारहरू रोजगारी गुमाएर बेखर्ची भएर बसिरहेका जानकारी पाएको भन्दै आफूले यसलाई अर्को हप्ताबाट कार्यान्वयनमा ल्याउन आफूहरूले सुझाव दिएको शर्माको भनाइ छ ।
कति कामदारले स्वदेश फर्किने इच्छा देखाएका छन् ?
त्यो सङ्ख्या स्पष्ट छैन । तर सीसीएमसीका प्रमुख शर्माका अनुसार अहिले ५०० कामदारले आफैँ खर्च व्यवस्थापन गरेर घर फर्किने इच्छा देखाएका छन् भने करिब १,५०० जनाको भाडा र अन्य खर्च राज्यले बेहोर्नु पर्ने अवस्था छ ।
त्यस्तो खर्च वैदेशिक रोजगार बोर्ड अन्तर्गत रहेको कल्याणकारी कोषबाट गर्न सकिने बताइएको छ । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले नेपाली श्रमिक रहेका देशका नियोगमा उद्धार गर्नुपर्ने कामदारको विवरण र तथ्याङ्क सङ्कलन गर्न अनुरोध गरिएको बताए ।
श्रम मामिला बारे अनुसन्धान गर्ने सेन्टर फर द स्टडी अफ लेबर मोबिलिटीका अनुसन्धान संयोजक अर्जुन खरेलका अनुसार गन्तव्य देशहरूमा पहिलो लहरको महामारीमा जस्तो कठिन परिस्थिति नरहेकाले अहिले उद्धार पर्खिरहेका कामदारहरूको सङ्ख्या सानो हुन सक्छ ।
होटेल क्वारन्टीन र घरफिर्तीको व्यवस्था कस्तो छ ?
सीसीएमसीको निर्देशक समितिले विभिन्न कारणले खर्च बेहोर्न नसक्ने कामदारका लागि होटेल क्वारन्टीनको लागि सहयोग रकम उपलब्ध गराउने निर्णय पनि गरेको अधिकारीहरूले बताएका छन् ।
कुल १५ दिन क्वारन्टीन बस्नुपर्ने र त्यसमध्ये १० दिनको खर्च राज्यले उपलब्ध गराउने भनिएको छ । यसअघि खाडी देश र मलेशियाबाट फर्किएका कामदारहरूले पाँच दिन होटेल क्वारन्टीनमा बसेर कोभिड नभएको रिपोर्ट बुझाएर घर जान सक्ने उल्लेख गरिएको थियो ।
सीसीएमसी प्रमुख शर्माले कोभिड परीक्षणको शुल्क र घर जानका लागि जिल्ला सदरमुकामसम्म यातायातको व्यवस्था पनि सरकारले गर्ने उल्लेख गरे । ‘स्मार्ट लकडाउन’ अन्तर्गत सङ्क्रमणको दर घट्दै गए बिस्तारै कुल सवारीसाधनमध्ये एकतिहाइलाई सञ्चालन गर्न दिनेसहितका विकल्प पनि सीसीएमसीले विचार गरिरहेको शर्माको भनाइ छ ।
बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले मन्त्रीस्तरीय निर्णयानुसार द्रुत प्रतिकार्य टोली गठन भएको र उद्धार गरिनुपर्ने कामदारहरूका लागि खटिन सरकारी संयन्त्र तयार भएर बसेको बताए ।
नेपाली श्रमिक कहाँ धेरै छन् ?
कोरोना भाइरसको महामारी देखा पर्नुअघि दैनिक रूपमा १,५०० को हाराहारी नेपालीहरू वैदेशिक रोजगारीमा जाने गरेका थिए । तर त्यसपछि उक्त सङ्ख्या आधाभन्दा बढीले घटेको छ ।
हाल वैदेशिक रोजगारीमा भएका अधिकांश नेपाली मलेशिया, कतार, यूएई, साउदी अरब र कुवेतमा कार्यरत छन् । सन् २००९ यता वैदेशिक रोजगारीका लागि ४० लाख जनाभन्दा बढीलाई श्रम स्वकृति दिइएको विभिन्न तथ्याङ्कले देखाउँछ ।






