सिरहा । सिरहामा केहि शिक्षकहरुले राजनितिक पहुँचकको भरमा एकै समयमा दुई ठाँउमा हाजिरी गरी राज्यको दोहोरो सेवा सुविधा बुझ्ने गरेको पाइएको छ । समुदायिक विद्यालयका स्थायी शिक्षकहरुले विद्यालय समयमा सामुदायिक कलेजमा पनि पढाएबापत दोहोरो सेवा सुविधा बुझ्ने गरेको खुलेको हो ।
राजनितिक दवाव र प्रभावका कारण शिक्षकहरुले स्थायी रुपमा कार्यरत विद्यालयमा नपढाई विद्यालयकै समयमा अन्यत्र कलेज तथा विद्यालयहरुमा पढाएर तलब भत्ता चाहि दुबै ठाउँबाट बुझ्ने गरेको पाइएको हो ।
धनगढीमाई नगरपालिका १२ स्थित तुलसीराम सत्यभामा डोटेल माध्यमिक विद्यालयको स्थायी शिक्षक समेत रहेका किशोर कुमार साह विगत ७ वर्षदेखि रामप्रताप रामप्रसाद तामाङ्ग जनता बहुमुखि क्याम्पसका प्रमुखको रुपमा कार्यरत छन् ।
प्रमुख साह कार्यरत रहेका विद्यालयका प्रधानाध्यापक अशोक श्रेष्ठलाई आर्थिक प्रलोभनमा पारी पछिल्लो लामो समयदेखि पब्लिक क्याम्पसको प्रमुखको रुपमा काम गरिरहेको सोही विद्यालयमा कार्यरत एक शिक्षकले नाम उल्लेख नगर्ने शर्तमा बताए ।
उनले भने, ‘यँहा विद्यालयको नियमित समयमा कहिले पनि नआउने शिक्षकले सहजै तलब खान्छ, जो दैनिक विद्यालयमा उपस्थित हुन्छ उ नै सेवाबाट वञ्चित हुन्छ ।’
प्रधानाध्यापक अशोक श्रेष्ठले ‘काम गरी खाँएको छ । खाँनदिनुन् । कति शिक्षकहरुको पछाडी मात्रै लाग्नु भएको पत्रकारहरुपनि ।’ भन्ने भनाईले पनि सेटिङको गन्ध दिन्छ । उनले थपे, ‘शिक्षकको खासै अभाव नभएकोले पनि उँहाका बारेमा सोधी खोजी नगरेको हो । हामीसँग २० जना शिक्षक छन् ।’
क्याम्पस प्रमुख तथा सत्यभामा डोडेल माध्यमिक विद्यालयका सामाजिक शिक्षक किशोर साहलाई तपाईहरुले कसरी दुई ठाउँमा समय मिलाई रहनु भएको छ ? भन्ने प्रश्नमा उनले, ‘विहानको कक्षा चलेको बेला क्याम्पस आउँदा विद्यालयमा विदा लिने र विद्यालय जाँदा क्याम्पस विदा लिने गरेको छु ।’
१२ कक्षासम्म अध्यन अध्यापन हुने यस विद्यालयमा करिव १२ सय विद्यार्थी रहेका छन् । शिक्षक भने जम्मा २० जना मात्र रहेको बताइएको छ । धनगढीमाई नगरपालिका ७ स्थितको जनता माध्यमिक विद्यालय अयोध्यानगर कसहामा कार्यरत शिक्षक प्रदिप कुमार साहले पनि विगत लामो समयदेखि रामप्रताप रामप्रसाद तामाङ्ग जनता बहुमुखि क्याम्पसमा पढाउने गरेका छन् ।
उनी पनि एकै समयमा दुई ठाउँमा हाजिर गरेर तलब भत्ता बुझ्ने गरेको बताइन्छ । यस क्याम्पसमा अध्यापन गराउने अधिकाम्स समुदायिक विद्यालयका स्थायी शिक्षकहरु छन् । उनीहरु पढाउने भन्दा पनि धेरै हाजिर गरेर भाग्ने गरेको विद्यार्थीको गुनासो रहँदै आएको छ ।
हिरेन्द्र विष्ट सरस्वती माध्यमिक विद्यालय जमदहका स्थायी शिक्षक हुन् । उनी पनि विद्यालयकै समयमा क्याम्पसमा पनि पढाउँछ्न् । बिष्टले गोलबजार नगरपालिका ६ स्थित माध्यमिक तहको निजि विद्यालय पनि चलाइरहेका छन् ।
उनको निजि विद्यालय, सामुदायिक विद्यालय र क्याम्पस समेत एकै समयमा चल्दापनि तिनै ठाउँ हजिर हुने गरेको शिक्षकहरु बताउँछन् । बिष्टले निजि बाहेक दुइ वटै विद्यालयमा समयमै नपुगे पनि तलब भता भन्ने कार्यरत विद्यालय र क्याम्पसबाट बुझ्ने गरेको स्रोतको दाबी छ ।
त्यसैगरी, गणित विषय पढाउने भगवान बाबु साह मिर्चैयास्थित मोहन माध्यमिक विद्यालयका शिक्षक हुन् । धनिकलाल मण्डल, जनता वनवाली माध्यमिक विद्यालय बर्छवा र प्रेम अधिकारी सिरहा नगरपालिकाका एक विद्यालयका स्थायी शिक्षक हुन् ।
इश्वर स्याङ्वा महावीर माध्यमिक विद्यालय धनगढीमाई ९ चैनपुरका उच्च माध्यमिक विद्यालय शिक्षक हुन् । सिजे यादव र रामदयाल यादव सिरहा क्याम्पसका शिक्षक हुन् ।
उनीहरु सबैको अहिले विहानी कक्षा चलेपनि क्याम्पसमा पढाउने अधिकांश सामुदायिक विद्यालयका शिक्षकहरुले यहाँबाट समेत पाँच घण्टी बराबरको तलब सुविधा बुझ्ने गरेका छन् ।
अधिकांश समुदायिक विद्यालयका स्थिायी शिक्षकहरु यहाँ कार्यरत भएकाले नयाँ शैक्षिक सत्र सुरुभएदेखि अहिलेसम्म हाजिर गर्न मात्र शिक्षकहरु क्याम्पस पुग्ने गरेका छन् ।
वैशाखदेखि असारसम्म सामुदायिक विद्यालयहरुले मोर्निङ (विहान) को समयमा पठन पाठन चलाएको बेला सबै शिक्षकले प्रधानाध्यापकसँगको सेटिङ्गमा कहिले यता र कहिले उता गरेर पढाउने गरिरहेका छन् ।
जम्मा १८ जना शिक्षकहरुमध्ये १३ जना सरकारी विद्यालयका शिक्षकहरु काम गरिरेहका छन् । अहिलेसम्म क्याम्पस व्यवस्थापन समितिलाई प्रभावमा पारेर र राजनीतिक आडमा आफ्नो रोजगारी टीकाईरहेको शिक्षकहरुमाथि आरोप लाग्दै आएको छ ।
शिक्षकहरुलाई तपाईहरुले कसरी दुई ठाउँमा पढाई रहनुभएको छ ? भन्ने प्रश्नमा उनीहरुले मिलाएर काम गरिहेका छौं भन्ने जवाफ दिने गरेका छन् । नियमित क्याम्पस र विद्यालय दुवै ठाउँ शिक्षक नपुग्दा पढाई प्रभावित हुने गरेको स्थानीय अभिभावकहरुको भनाइ छ । न्यूज कारखाना




