वीरगंज । सखुवाप्रसौनी गाउँपालिका १ औराहामा शनिबार साँझ एक जनालाई बाघले आक्रमण गरेपछि स्थानीयले बाघलाई मारेका छन् ।
इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले जङ्गलबाट साँझ ५ बजे निस्केको बाघले स्थानीय ३६ वर्षीय भीमबली महतोलाई आक्रमण गरेर घाइते बनाएको बताए ।
महतो साँझ मकैबारीमा गएका थिए र सोही बखत बाघ जङ्गलबाट आएको थियो । महतोले बाघलाई धपाउन खोजेपछि बाघले आक्रमण गरेको थियो । आक्रमणबाट महतोको दुवै हात र टाउकोमा घाउ भएको छ ।
महतोलाई स्थानीयले बाघको आक्रमणबाट जोगाएका थिए । सो क्रममा स्थानीयको आक्रमणबाट बाघको मृत्यु भएको छ । घाइते महतोलाई उपचारका लागि वीरगंज पठाइएको इप्रका, पटेर्वासुगौलीले जनाएको छ ।




