बारा । बाराको वनमा चोरी सिकारीको समूह सक्रिय रहेको पाइएको छ । निजगढ नगरपालिकामा सिकारीहरूको समूहले वन कार्यालय नजिकैको जंगलमा आइतबार गोली हानेर हरिण मारेका छन् । सिकारीहरूले निजगढ सबडिभिजन वन कार्यालयबाट करिब पाँच सय मिटर दक्षिणमा पर्ने निजगढ ९ को आदर्श सदावहार सामुदायिक वन क्षेत्रभित्र बयस्क हरिणलाई गोली हानेर मारेका हुन् ।
जंगलमा बन्दुक पड्केको आवाज सुनेपछि वन कर्मचारीहरू तत्काल घटनास्थलमा पुगेका थिए । गस्ती टोली पुगेपछि मृत हरिण बोकेर लैजाने तयारीमा रहेका १५/१६ जनाको समूहमा रहेको सिकारी टोली भने भागेको थियो ।
कार्यालयका रेन्जर निरज पोखरेलका अनुसार करिब दुई वर्ष उमेर र सय किलो तौलको सो हरिणलाई सिकारीहरूको समूहले डिभिजन वन कार्यालयको दक्षिणतर्फ पूर्वपश्चिम राजमार्गबाट करिब तीन मिटरभित्र जंगलमा दिउँसो ३ बजे गोली हानेर मारेका हुन् ।
हरिणको गर्धनको ६ स्थानमा गोलीको छर्रा लागेको पाइएको रेन्जर पोखरेलले जानकारी दिए । ‘वन कार्यालय नजिकै जंगलमा लगातार चार पाँच पटक बन्दुक पड्केको आवाज आयो । त्यसपछि हामी आवाज पड्केको स्थानतर्फ जाँदा १५/१६ जनाको समूहका सिकारीहरू हामीलाई देखेर भागे,’ उनले भने ।
फरार सिकारीहरूको हुलियाको आधारमा उनीहरूलाई पहिचान गर्न र घटनाको थप अनुसन्धान गर्न टोली खटाइसकेको डिभिजन वन कार्यालय बाराले जनाएको छ । सिकारी भागेपछि मृत अवस्थामा बरामद भएको हरिणलाई निजगढ सबडिभिजन वन कार्यालय परिसरमा ल्याएर स्थानीय जनप्रतिनिधिको रोहवरमा गाडिएको छ ।
यसअघि वन क्षेत्रमा सिकारीहरूले डढेलो लगाएर सिकार गर्ने तथा डढेलोका कारण राजमार्ग तथा बस्तीसँगै रहेको वन क्षेत्रमा हरिण, मृग, चित्तलजस्ता वन्यजन्तुु बस्न थालेपछि सिकारीहरूको समूहसमेत सक्रिय हुँदै आएका छन् ।
केहि समयअघि मात्रै डिभिजन वन कार्यालय बाराको रात्रि गस्ती टोलीले कोल्हवी नगरपालिकाको वन क्षेत्रबाट वन्यजन्तु सिकार गर्ने दुई जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरूको साथबाट भरुवा बन्दुकमा प्रयोग हुने बारुद फेला परेको थियो ।




