रौतहट । चन्द्रनिगाहपुर–गैंडाटार जाने चाँदी नदीमा पुल निर्माण सुरु भएको झण्डै ७ वर्ष बित्यो । निर्माणको ठेक्का लिएको कम्पनीले भने सम्झौता गरेको समयमा काम गर्न सकेको छैन । काम अघि नबढेपछि र ठेकेदारले पुल अलपत्र छाडेपछि स्थानीयले आन्दोलन पनि गरे । तर तीन/तीन पटक म्याद थपेको ठेकेदारले अझै काम सुस्त पारिरहेको छ ।
पुलको काम समयमा नसकिएको कारण हरेक वर्ष चन्द्रनिगाहपुरबाट गैडाटार जाने र गैडाटारबाट चन्द्रनिगाहपुर आउने क्रममा स्थानीयले ज्यान समेत गुमाउँदै आएका छन् ।पप्पु शिवशंकर जेभीले २५ करोड ३६ लाखमा पुलको ठेक्का लिएको हो । ०७४ असार ३१ मा गरिएको सम्झौता अनुसार ०७६ असार ३१ मा पुल निर्माणको काम सकिनुपर्ने थियो । तर, सात वर्ष बित्न लाग्दा पनि प्रभावकारी रूपमा काम अघि बढ्न छैन ।
पुलको तेस्रो पटक म्याद गएको असार मसान्तमा सक्ने गरी थपिएको थियो । साडे ६ वर्षमा ७० प्रतिशत मात्र काम भएको छ । ठेकेदार कम्पनीले समयमै काम सकेको भए गैंडाटार गाउँका स्थानीयलाई आवतजावतमा सुविधा हुने वडाध्यक्ष रवि देवकोटा बताउँछन् ।
सम्झौता अनुसार निर्माण नसकिएपछि पहिलो पटक साधारण खरिद नियमावली (नवौं संशोधन) अनुसार डेढ वर्षका लागि म्याद थपिएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । थपिएको म्यादअनुसार ०७७ पुस १४ मा निर्माण सक्नुपर्ने थियो । तर ठेकेदारले कोरोना, लकडाउन लगायत बहाना गर्दै काम सकेन । कोभिड १९ को कारण देखाई दोस्रो पटक ०७७ माघ ११ मा ०७८ असार १३ सम्म काम सक्ने गरी ६ महिना म्याद थपियो ।
ठेकेदारले त्यस अवधिमा पनि काम गरेन । त्यसपछि तेस्रो पटक ०८० असार मसान्तको समय पनि ठेकेदारले गुजार्यो । सडक डिभिजन कार्यालयले पटक पटक निर्माण कम्पनीसँग स्पष्टीकरण पनि सोधेको थियो । ठेकेदार कम्पनीले भने आर्थिक अभाव, बर्खा, निर्माण सामग्रीको अभाव तथा विभिन्न कारणले सम्झौता अनुसार निर्माण नसकिएको बताउँदै आएको छ ।




