मोरङ । प्रहरीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन मोरङमा गोली प्रहार गरेको छ । मंगलबार रतुवामाई नगरपालिका वडा नम्बर ६ कादुपार्डा सडकमा प्रहरीले गोली प्रहार गरी एक जनालाई नियन्त्रणमा लिएको हो ।
भारतीय नागरिकलाई नियन्त्रणमा लिएको लागुऔषध नियन्त्रण ब्युरो प्रमुख एसएसपी गोविन्द थपलियाले जानकारी दिए । पक्राउ पर्नेमा भारत विहार किसनगन्जका ४८ वर्षीय भागिरथ हरिजन रहेका छन् ।
लागुऔषध कारोबारी आउँदै गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड गोली प्रहार गरेको हो ।
उनको दाहिने खुट्टामा चोट लागेको एसएसपी थपलियाले बताए । उनीबाट प्रहरीले अन्दाजी १५८ खैरो हेरोइन बरामद गरेको छ । प्रहरी सहायक निरीक्षक नवीन शाहीको औंलामा सामान्य चोट लागेको छ ।




