महोत्तरी । गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाईन्छ भन्दा धेरैलाई अप्रत्यारिलो लाग्न सक्छ । तर, महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडोमा पुगेपछि पाइने विशिष्ट चिसो मौसमले यसलाई पुष्टि गर्दछ ।
यो खबर थाहा पाएपछि मधेश र नजिकै सिमाना जोडिएका भारतको विहार प्रदेशका मानिसहरुको गर्मी छल्ने सबैभन्दा उत्कृष्ट गन्तव्य पहाड र हिमालका जिल्लाभन्दा यहीँ ठाउँ सर्वाधिक रोजाई समेत बन्न सक्छ ।
किनभने विहारका जिल्लाहरुबाट यहाँ ३५ किलोमिटर मात्र दुरीमा छ भने मधेश प्रदेशको मध्यविन्दुमा पर्दछ । छोटो दुरीमा उच्च पहाडी जिल्लाको जस्तो हावापानी र मनोरम दृश्य अवलोकन गर्न पाईने यो ठाउँ मधेश र विहारका मानिसहरुका लागि कम खर्चिलो समेत बन्ने देखिन्छ ।
बर्दिबास नगरपालिकाको खयरमाराबाट ४ किलोमीटर मात्र माथी उक्लेपछी पाइने हावापानी वाह्य र आन्तरिक पर्यटक भित्र्याउन सकिने महत्वपूर्ण आधार बनेको छ ।
जुनार र सुन्तला पनि यँहा पाइन्छ । त्यसो हुँदा कत्ती चिसो हावापानी पाईन्छ भन्ने भनिरहनु नै परेन । उधोग वाणिज्य संघ बर्दिबासका चौधरी महतोले भने । यो मधेशको दोश्रो भेडेटार जस्तै बन्न सक्छ ।
प्रचण्ड गर्मी छल्ने उपयुक्त पर्यटकिय गन्तव्य बनाउन सकिने गतिलो आधार भएतापनि प्रचार प्रसारको अभावमा गुमनाम देखिएको चनौटे डाँडो अथाह पर्यटकिय सम्भावना बोकेर बसेको विविधतायुक्त विशेषताहरुले नै प्रमाणित गर्दछ ।
प्रचुर सम्भावनाहरु बोकेर पनि ओझेलमा परिरहेको छ । सोही वडाका वडा अध्यक्ष गोपाल वलले भने । गर्मी छल्न उच्च पहाडी जिल्लामा जाने तराईवासी र नजिकै सिमाना जोडिएको विहारका मानिसहरुलाई यतै रोक्न सकिन्छ ।
यतिबेला मधेशमा अत्याधिक गर्मी छ । याँहाका मानिसहरु चिसो हावापानीको खोजीमा पहाडी र हिमाली जिल्लाहरुमा जाने क्रम बढेको छ भने नजिकै सिमाना जोडिएको भारतको विहार प्रदेशका मानिसहरु गर्मी छल्न केहिदिनका लागि भएतापनि सिन्धुली, रामेछाप, दोलाखा जस्ता जिल्लाहरुमा बाक्लै जाने गरेको तथ्यांकले देखाउछ ।
औपचारिक मापन हुन नसकेतापनि स्थानियहरु यो ठाउँ मधेशको नै सर्वोच्च चुरे पहाड भएको दावी गर्छन् । १० वर्षे जनयुद्ध हुर्काउन उर्वर भुमिको रुपमा प्रयोग भएको यो ठाउँलाई माओवादीका पुर्व लडाकुहरुले अहिले पनि निक्कै श्रद्धाका साथ लिने गर्दछन् ।
यसै कारणले यो ठाउँमा सहिद पार्कको प्रारम्भिक शिलान्यास गरिएको थियो । जस्लाई प्रधानमन्त्री प्रचण्ड स्वयम् पुगेर शिलान्यास गरेका थिए । स्थानियका अनुसार विकटताका कारण निर्माण सामाग्री पुर्याउन नसक्दा केही योजनाहरुमा अपुरा नै बने ।
नेपालको रुकुम, रोल्पा भनेर चिनिने यो ठाउँ जत्ती मनोरम छ त्यति नै ऐतिहासिक विरासत समेत वोकेको छ । स्थानिय बिष्णु भण्डारीले भने । मधेशको छोटो दुरीमा पाइने यो हावापानी वास्तवमा प्राकृतिक वरदान हो ।
भौगोलिक भुधरातल र फुसका घरहरुले निक्कै विकट लाग्ने यो ठाउँबाट पुरै तराई नियाल्न सकिन्छ । समुन्द्री सतहबाट झण्डै ७ सय मिटर उचाईमा रहेको यो ठाउँलाई कतिपयले प्राकृतिक भ्यू टावर पनि भन्ने गर्दछन् ।
स्थानियका भनाई अनुसार दुई दशक अघिसम्म यँहा घनाबस्ती थियो । विकटता कै कारण मानिसहरु बसाई सरेर कतिपय बर्दिवास पुगे भने कतिपय खयरमारा बजारतिर आएर बसे ।
औलो रोगबाट बच्न खयरमाराका मानिसहरु समेत यहीँ डाँडामा आएर बस्ने गरेको स्थानिय काजी बहादुर कार्की बताउँछन् । यँहाबाट गौरिसंकर हिमालदेखी प्रदेशको राजधानी जनकपुरधामसम्म देख्न सकिन्छ भने मधेशका चुरे शृङ्खलाहरुलाई स्पष्ट दृश्यावलोकन गर्न सकिन्छ ।
सिन्धुलीको गढी समेत देख्न सकिने यो ठाउँलाई कतिपयले दोश्रो गढीको रुपमा समेत व्याख्या गर्ने गरेका छन् । अचम्मलाग्दो त कहानिर छ भने यो ठाउँमा जुनार र सुन्तलाका बोटहरु देखिनु मधेशको लागी सबैभन्दा अनौठो विषय हो ।
उच्च पहाडी भेगमा पाइने सुन्तला, जुनार पाईनुले पनि यँहाको हावा पानीलाई आफै प्रमाणित गरेको छ । पर्यटकिय गन्तव्यको खोजी अभियान अन्तर्गत बर्दिबास उधोग वाणिज्य संघको नेतृत्वमा शनिबार यँहा पुग्दा धेरै मानिसहरुले चनौटे डाँडालाई मधेशको हिमालकोरुपमा चित्रण गरे ।
उधोग वाणिज्य संघ बर्दिबासका अध्यक्ष विष्णु खडकाले चनौटे डाँडा मधेशको महत्वपूर्ण पर्यटकिय गन्तव्य बन्न सक्ने र यसलाई सरोकार वालाहरुको ध्यानाकर्षण हुनुपर्ने बताए ।
उनले यो उचाईबाट दृश्यावोलकन गर्न सकिने मधेशका फाटहरु र चुरे शृङ्खला थप आकर्षण रहेको बताउँदै बर्दिवास नगरपालिकाले प्रचारप्रसार र पर्वद्वनमा कार्य योजना बनाएर अगाडि बढनुपर्ने सुझाव दिए ।
बर्दिवास नगर सांस्कृतिक तथा पर्यटन पर्वद्वन समितिले पनि चनौटे डाँडाको विषयमा थप खोज र अनुसन्धान गर्ने प्रतिवद्वता जनाएको छ ।
समितिका अध्यक्ष हिरा गौतमले मधेश र विहारमा प्रचण्ड गर्मी कारण चिसोको खोजीमा रहेका आन्तरिक र वाहय पर्यटकको लागि चनौटे डाँडा महत्वपूर्ण रहेको बताउदै यसलाई थप प्रचार प्रसार गर्ने बताए । न्युज कारखाना




