जनकपुरधाम । शुक्रबार मधेश प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन पर्ने जानकी (सीता) जयन्तीको अवसर पारेर प्रदेश सरकारले बिदा दिएको हो । मधेश प्रदेशको वार्षिक क्यालेन्डर अनुसार शुक्रबार सार्वजनिक बिदा दिन लागिएको हो ।
त्रेता युगमा मिथिलाका राजा जनकले यज्ञको अनुष्ठान गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको वर्णन वाल्मीकि रामायण र पुराणहरूमा गरिएको छ । माता सीताको जन्म हाम्रो पौराणिक तथा सांस्कृतिक विश्वासको धरोहरका रूपमा रहिआएको छ ।
जानकी, वैदेही, जनकनन्दिनी लगायत सीताका अन्य धेरै नामहरूलाई श्रद्धापूर्वक लिइने गरिएको छ । सीता जयन्तीका अवसरमा जनकपुरधाम लगायत देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गर्न भक्तजनको ठूलो भीड लाग्ने गर्छ ।
भगवान् विष्णुको छैटौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्र श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताको उत्पत्ति भएको वर्णन विभिन्न ग्रन्थमा गरिएको छ । सीतालाई सत्यवती, पतिव्रता एवम् आदर्श नारीका रुपमा सम्मान गरिन्छ ।
यसैबीच जानकी सीता जन्मोत्सवको दिनलाई स्मरण गर्दै वैशाख शुक्ल नवमीको अवसरमा धुमधामका साथ मनाइने तयारी जानकी मन्दिरले गरेको छ ।




