सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहले नगरपालिकाको बजेट प्रयोग गरी आफ्नो निजी पोखरीमा घाट बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि रकम फिर्ता गरेका छन् ।
आर्थिक वर्ष २०७९/८० मा वडा नम्बर ८ प्रवाह टोलस्थित भगवती मन्दिर नजिकको रमन पोखरीमा घाट निर्माणका लागि ५ लाख बजेट खर्च गरिएकामा ४ लाख ८४ हजार ७ सय ३० मा बलराम पार्वती निर्माण सेवा सप्तरीले घाट निर्माण गरेको थियो ।
घाट निर्माणका क्रममा पालिका प्रमुख मलाहले आवश्यक जग्गा नगरपालिकालाई हस्तान्तरण गर्ने मन्जुरीनामा गरेका थिए । मन्जुरीनामा गरेको जग्गा नगरपालिकाका नाममा हालसम्म आएको छैन ।
यसैबीच निजी पोखरीमा घाट निर्माण गरेको भन्दै अख्तियारमा उजुरी परेपछि प्रमुख महालले उक्त लागत खर्च नगरपालिकाको खातामा जम्मा गरेका हुन् ।
प्रमुखले आइतबार ब्याजसहित ५ लाख ५१ हजार नगरपालिकाको खातामा जम्मा गरेको नगरपालिकाका प्रशासन शाखा प्रमुख उमेशकुमार साहले जानकारी दिए ।




