वीरगंज । पर्साको पकाहामैनपुर गाउँपालिका ४ खेस्राहा बस्ने ४० वर्षीय वीरेन्द्र गिरीको भारतको लद्दाखमा रहस्यमय मृत्यु भएको छ । एक साता अघि घर निर्माणको क्रममा १० तलाबाट खसेर उनको मृत्यु भएको बताइएपनि परिवारजनले उनको मृत्यु शङ्कास्पद रहेको जनाएका छन् ।
गिरीका भिनाजु पर्ने पकाहामैनपुर गापा ४ घर भई हाल छिपहरमाई गापा ३ जयमङ्गलापुर बस्ने अनिल गिरीको सो घटनामा संलग्नता रहेको वीरेन्द्र गिरीकी पत्नी निर्मला देवीले जिल्ला प्रहरी कार्यालय, पर्सामा दिएको उजूरीमा उल्लेख छ ।
सो घटना शङ्कास्पद रहेकोले छानबीन गरी दोषीलाई कारबाईको लागि उनले माग गरेकी छन् । निर्मलाले अनिलसँगै छिपहरमाई गापा ३ बस्ने सञ्जय गिरी, सोही ठाउँका विजय गिरी, कान्छाराउत गद्दी, अजय साह, महेश साह लगायत गरी ६ जनामाथि किटानी जाहेरी दिएकी छन् ।
चार दिनअघि उनको शव पर्सा ल्याएर दाहसंस्कार गरिएको छ । लद्दाख प्रहरीले दिएको प्रतिवेदन अनुसार घर निर्माणको क्रममा घटना भएर उनको मृत्यु भएको र उनको शल्यक्रियाको रिपोर्टपछि मृत्युको कारण यकीन हुने बताएको छ ।




