धनुषा । शास्त्रीय सङ्गीतका साधक तथा गायक गुरुदेव कामतको निधनको शोकमा मधेस प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ । प्रदेश सरकारले आइतबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।
मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले आज शोक वक्तव्य जारी गर्दै स्व. कामतको निधनप्रति शोक तथा श्रद्धाञ्जली व्यक्त गर्न आइतबार मधेस प्रदेशका सरकारी तथा सार्वजनिक कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने जानकारी दिएका हुन् ।
वक्तव्यमा मुख्यमन्त्री सिंहले अत्यन्त प्रभावशाली ढङ्गले गीत सङ्गीतका माध्यमबाट भावनात्मक, आध्यात्मिक, सामाजिक एवम् सांस्कृतिक विषयवस्तुलाई अभिव्यक्त गर्न सम्पूर्ण जीवन व्यतीत गरेका दिवङ्गत गुरुदेवप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
स्व. कामतले मनोरञ्जन र जीविकोपार्जनका लागि मात्र नभई अत्यन्त कठिन र सङ्घर्षपूर्ण साङ्गीतिक आरधना र उपासनाका यात्राबाट मुख्यमन्त्री सिंहले शास्त्रीय तथा सुगम सङ्गीत परम्परालाई थप सिर्जनात्मक बनाएको उल्लेख गरेका छन् ।
वक्तव्यमा भनिएको छ, ‘शास्त्रीय एवम् सुगम दुवै सङ्गीतसम्बद्ध जीवनमा नयाँ चेतना प्रदान गर्ने गुरुदेवजीले सङ्गीत शिक्षालाई नेपालमा नयाँ दिशा तथा आयाम दिए । उनको अतुल्य तथा विलक्षण प्रतिभाबाट धेरै सङ्ख्यामा सङ्गीताभ्यासीहरू सुरसाधनाका गहनतम् पक्षलाई सरलतम् ढङ्गले बुझ्न सक्षम भएका छन् ।’
स्व. कामतकै प्रेरणा र सामीप्यबाट सङ्गीत विधामा नयाँ पुस्ताका प्रतिनिधिहरू उत्सुक भएको अवस्था रहेको मुख्यमन्त्री सिंहले उल्लेख गरेका छन् । कामतको सिरहास्थित लक्ष्मीपुरतारी गाउँपालिका २ पोखरभिण्डामा बिहीबार निधन भएको थियो ।




