काठमाडौं । काठमाडौंको सिनामंगलमा शुक्रबार दिउँसो मृत भेटिएका युवक र युवती नजिकका दाजुबहिनी भएको खुलेको छ । उनीहरु बाजुराको त्रिवेणी नगरपालिका ४ का दाजुबहिनी भएका खुलेको हो । प्रहरीका अनुसार २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी १९ वर्षीया करिस्मा सार्की काठमाडौं महानगरपालिका ९ शम्भुमार्गस्थित झर्ना गेस्ट हाउसमा मृत भेटिएका थिए ।
गेस्ट हाउसको कोठा नम्बर २०४ मा करिस्मा घाँटी काटिएको र भरत झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । करिस्मा आफ्ना दुई भाइसँग काठमाडौंमा बस्दै आएको पाइएको छ । भरत रोजगारीका लागि भारतको मुम्बईमा थिए । चार वर्षअघि मुम्बई गएका उनी गाउँ फर्किएका थिएनन् । अहिले उनी काठमाडौं आएको पनि परिवारलाई जानकारी नभएको खुलेको छ ।
भरत र करिस्मा नजिकका दाजुबहिनी भएको उनीहरुको आफन्तले जानकारी दिएका छन् । तर, उनीहरुबीच सम्बन्ध रहेको हल्ला थियो । उनीहरू धेरै नजिक भएको हल्ला चलेपछि आफूहरुले घरमै उनीहरूलाई सम्झाएको र त्यसपछि मुम्बई गएको भरत गाउँ नफर्किएको उनीहरुको भनाइ छ । अहिले काठमाडौं आएको पनि आफूहरुलाई जानकारी नभएको उनीहरुले बताएका छन् ।
घटना बारे जानकारी पाएपछि परिवारलाई खबर गरिसकेको वडाध्यक्ष गणेशबहादुर साउदले जानकारी दिए । करिस्मा र भरत साउन १५ गतेदेखि नै उक्त गेस्ट हाउसमा बसेको सञ्चालकले जानकारी दिएका छन् । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ ।




