महोत्तरी । हाम्रो माया घर निर्माणार्थ बर्दिवासमा आयोजना भइरहेको शिव पुराण महायज्ञमा कथा श्रवण गर्न आउनेहरुको घुईचो लागेको छ । सडक मानवरहित बनाउने उदेश्यले आयोजना भइरहेको माहायज्ञको छैठौ दिनसम्म ६५ हजारभन्दा बढी मानिसहरु आएको आयोजक पक्षले जनाएको छ ।
कथा वाचिका राधिका दाशी स्वयम् संरक्षक रहेको हाम्रो माया घर बर्दिवास कै वडा २ स्थित ५ कठ्ठा जमीनभित्र ११ करोड लागतमा दुई वटा भवन निर्माण हुँदैछन् । बेवारिसे, तिरस्कृत भएका वृद्धहरु, मानसिक सन्तुलन गुमाएर सडकमा अलपत्र रहेका मानवहरु, सडक बालबालिका तथा बेसहाराहरुको उद्दार तथा व्यवस्थापनलाई लिएर बन्न लागेको आश्रयस्थलको लागि दाताहरुले समेत निक्कै चासो देखाएका छन् ।
देशैभरिबाट आएका मानिसहरुले गरेको दानबाट अहिलेसम्म ८५ लाख भन्दा बढी संकलन भएको छ भने दान र सहयोग गर्नेहरुको संख्या बढीरहेको मुल आयोजक समितिको सचिवालयले जनाएको छ ।
१ करोड ५० लाख संकलन हुने लक्ष्य राखिएको उक्त महायज्ञको मध्यान्तरसम्म आईपुग्दा अपेक्षा गरेभन्दा धेरै राम्रो सहभागी र दान सहयोग भइरहेको महायज्ञ आयोजक समितिका संयोजक हिरालाल गौतमले जानकारी दिए ।
२१ गतेदेखि सुरु भएको महायज्ञ २९ गते समापन हुँदैछ । यो विचमा हाम्रो माया घर निर्माणार्थ ऐक्यवद्वता जनाउन राजनीति दलका प्रतिनिधिहरु र प्रदेश सरकारका मन्त्री, राज्य मन्त्री समेत सहभागी भएका छन् ।
यही क्रममा शनिबार बेलुका मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले कार्यक्रममा सहभागी जनाएर प्रदेश सरकारले पनि हाम्रो माया घर निर्माण सम्पन्न गर्न स्वामित्व लिने बताएका छन् ।
त्यस्तै, स्थानीय राजनीति दलहरुले पनि सडक मानवरहित बनाउने उदेश्यले निर्माण हुन् लागेको पवित्र कार्यमा हातेमालो रहने बताउँदै नेपाली कांग्रेसले त कार्यकर्ताहरुलाई महायज्ञ अवधिभर स्वयमसेवकको रुपमा खटिन विज्ञप्ति जारी गरेर निर्देशन नै दिएको छ । न्युज कारखाना




