काठमाडौं । हालैको विपद्को समयमा यती, बुद्ध र श्री एयरलाइन्सजस्ता हवाई सेवा कम्पनीहरूले आपतकालीन अवस्थामा सहयोग गर्नुको साटो हवाई भाडा बढाएको पाइएको छ । गत शुक्रबार र शनिबार बाढी पहिरो र लगातारको वर्षाका कारण सडक यातायात अवरुद्ध भएपछि आइतबार एयरलाइन्सहरूले भाडा बढाएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एयरलाइन्सहरूले विपद्को समयमा यात्रुहरूलाई सहुलियत दिनुपर्ने बताउँदै हवाई शुल्क नबढाउन आग्रह गरे । सामाजिक सञ्जालमा व्यापक आलोचना बढेपछि प्रधानमन्त्रीले विपत्तिको समयमा यात्रुहरूबाट पहिलेको जस्तै भाडा लिएर सहयोग गर्न आग्रह गरेका हुन् ।
देशभर बाढी र पहिरोले राजमार्गहरू अवरुद्ध भएपछि, एयरलाइन्सहरूले भाडामा मनपरी वृद्धि गरेको आरोप लागेको छ । विशेष गरी काठमाडौंबाट भैरहवा, विराटनगर र भद्रपुर जस्ता प्रमुख गन्तव्यहरूमा भाडा दोब्बरभन्दा बढी भएको यात्रुहरूले गुनासो गरेका छन् ।
टिकट दरका तुलनात्मक मूल्यहरू पनि सामाजिक सञ्जालमा पोस्ट भएका छन्, जसले व्यापक आलोचना जन्माएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले यो विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरण र हवाई सेवा प्रदायकहरूसँग छलफल भइरहेको बताए ।
मन्त्रीले भाडा दर घटाउन पहल भइरहेको जनाएका छन्, तर यस बारे कुनै ठोस कदम चालिएको छैन । विपद्को समयमा भाडा वृद्धि हुन नदिन वायुसेवा सञ्चालक संघ नेपालले पनि असोज १४ देखि असोज १६ सम्म अपर लिमिटको भाडादरमा टिकट नबेच्ने निर्णय गरेको छ ।
साथै, सरकारले हवाई इन्धन उपलब्ध गराउन र अन्य शुल्कहरूमा छुट दिन पनि आग्रह गरेको छ । तर, व्यवसायीहरूले यदि यी सुविधाहरू उपलब्ध नगराइए पुनः भाडा वृद्धि हुन सक्ने संकेत दिएका छन् ।




