काठमाडौं । वायुसेवा संचालक संघले अधिकतम मूल्यमा टिकट नबेच्ने घोषणा गर्दै सरकार र यात्रुलाई भ्रमित गरेको छ । संघले असोज १६ सम्म नेपाल सरकारले तोकेको अधिकतम भाडादरमा टिकट नबेच्ने निर्णय गरेको थियो । तर, सडक सञ्जाल अवरुद्ध भएको वर्तमान अवस्थामा, तीन दिनसम्मको अग्रिम टिकट बुकिङ भइसकेको अवस्थामा संघले यस्तो घोषणा गरेको छ, जसले यात्रुहरूलाई झुक्याएको छ ।
अनलाइन र विमान सेवा कम्पनीहरूको वेबसाइटहरूमा असोज १६ सम्मका टिकटहरू उपलब्ध छैनन् । उदाहरणस्वरूप, यति एयरलाइन्सको वेबसाइटमा असोज १६ मा काठमाडौंदेखि भैरहवा रुटको भाडा ८,५५५ रूपैयाँ देखाइएको छ, जबकि सामान्य अवस्थामा यो रुटको भाडा ५,२०० रूपैयाँ मात्र थियो । यस बाहेक, इसेवामा असोज १७ का लागि काठमाडौं-भैरहवा रुटको टिकट ६,२२२ रूपैयाँमा देखाइएको छ ।
चाडपर्व र संकटको समयमा वायुसेवा कम्पनीहरूले मनोमानी रूपमा भाडा वृद्धि गरेको यो पहिलो पटक होइन । हरेक वर्ष चाडपर्वमा हवाई भाडा आकासिने गरेको पाइन्छ, तर सरकार र नियमन निकायहरूले यस बारे कुनै ठोस कदम चालेको देखिँदैन ।
संघले आइतबार भनेको थियो, ‘संघमा आवद्ध सबै वायुसेवा कम्पनीहरूले विपद्को अवस्थामा मिति २०८१ असोज १४ देखि १६ सम्म नेपाल सरकारले तोकेको अधिकतम भाडादरमा टिकट नबेच्ने निर्णय गरेका छन् ।’
यसैबीच, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको सचिवालयले मन्त्रीको पहलमा वायुसेवा कम्पनीहरूले टिकटको मूल्य घटाएको गलत जानकारी दिएको छ । तर, वास्तविकतामा यात्रुहरूले असोज १६ सम्मका टिकट पाउन सकेका छैनन् ।
मन्त्री पाण्डेको सचिवालयले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको थियो, ‘मन्त्री बद्री पाण्डेको विशेष पहलमा वायुसेवा कम्पनीहरूले केही दिनका लागि अधिकतम भाडादरमा टिकट नबेच्ने निर्णय गरेका छन् । हालैको बाढी पहिरोका कारण उत्पन्न समस्यालाई मध्यनजर गर्दै सोमबारदेखि बुधबारसम्म अधिकतम भाडादरमा टिकट नबेच्ने निर्णय भएको हो ।’
विपद्का बेला राजमार्गहरू बन्द हुँदा यात्रुहरू समस्यामा परेका छन्, र अधिकतम भाडादरले यात्रुहरूलाई झन् समस्या परेको गुनासोहरूपछि मन्त्रालयले भाडा घटाउन पहल गरेको थियो ।




