सर्लाही । गत शुक्रबार धादिङको धुनीबेँसी नगरपालिका ९ झ्याप्ले खोलामा आएको पहिरोले सर्लाहीका १८ वर्षीय वसन्तकुमार साह सधैंका लागि अस्ताए । आर्थिक रूपले कमजोर परिवारका लागि सुखको सपना देख्ने वसन्तको जीवन पहिरोको चपेटामा पर्यो ।
बसन्त परिवारको जेठो छोरा थिए र पढाइमा निकै मेहनती । उनका बुवा भरत साह भक्कानिँदै भन्छन्, ‘उ मलाई सम्झाउँथ्यो कि परिवारको दुःख हटाउनु पर्छ । ठूलो मान्छे बन्ने, दिदीहरूको विवाह गर्ने र भाइलाई राम्रो शिक्षा दिने उसको सपना थियो ।’
छोराको शोकमा डुबेका भरतले भने, ‘ऊ परिवारको एउटा ठूलो खम्बा थियो, अब यस घरको जिम्मेवारी कसले थाम्ने ?’ भरत किराना पसल चलाउँछन्, जसले परिवारको जीविका र छोराछोरीको शिक्षा धान्न मद्दत गर्छ । उनले भने, ‘खेतमा फलेको अन्नले मुश्किलले वर्षभरको खाजा जुटाउँछ । मैले सोचेको थिएँ, छोराले राम्रो पढ्दै गएकाले अब सुखका दिन आउँदैछ ।’
घटनापछि गाउँमा शोकको माहोल छ, र वसन्तकी आमालाई भने हालैसम्म राम्रोसँग होस आएको छैन । वसन्तले कक्षा ६ सम्मको अध्ययन गाउँकै स्कुलबाट गरेका थिए । त्यसपछि उनले चितवनको प्रभात माविबाट कक्षा ६ देखि एसइईसम्मको पढाइ पूरा गरेका थिए ।
गत शैक्षिक सत्रमा एसइई परीक्षा पास भएपछि कक्षा ११ र १२ अध्ययन गर्न काठमाडौं गएका थिए । दिदी विभाकुमारीसँगै बसेर उनले काठमाडौंको नयाँ बानेश्वरस्थित लिभरपुल कलेजमा विज्ञान विषय अध्ययन गर्दै थिए ।
पछिल्लो समय क्याम्पसले उनलाई एसइईका केही प्रमाणपत्र ल्याउन भनेको थियो । यस कारणले गर्दा उनी बिहिबार चितवन फर्किएका थिए । शुक्रबार बिहान उनले विद्यालयमा कागजात संकलन गरेपछि साँझ माइक्रो बसमार्फत काठमाडौं फर्कंदै थिए ।
राति १:२५ बजे काठमाडौंमा रहेको दिदीसँग फोन सम्पर्क गरेका वसन्तले ‘म आउँदै छु, जंगलको बीचमा जाममा परेको छु’ भनेका थिए, तर त्यसपछि उनका फोनमा सम्पर्क हुन सकेन । विभाले भनिन्, ‘फोनमा भाइलाई सोधेको थिएँ, तर फोन अचानक काटियो । म सोच्दै थिएँ कि जाममा अलपत्र परेका होलान् ।’
बाढी र पहिरोले सडक अवरुद्ध भएको समाचारले दिदीलाई चिन्तित तुल्यायो । चितवनबाट उनका बुवा र भिनाजुले खोजी गर्दै जब झ्याप्ले खोला पहिरोमा बस र माइक्रो पुरिएको खबर पाए, तब उनीहरू आत्तिएका थिए । सुरक्षाकर्मीले शव निकाल्न थालिसकेका थिए, तर उनीहरू त्यहाँ पुग्न सकेनन् ।
‘सोमबार बिहान शव पहिचान गर्न दिए । छोराको शव कसरी घर ल्याउने हो, त्यो थाहा छैन । प्रक्रिया पूरा गरेर मंगलबार बिहान घर पुगेका थियौं,’ बुवा भरतले भने । ‘मेरो ठूलो सपना र आशाको दीप पहिरोमा हरायो । ऊ इञ्जिनीयर बन्न चाहन्थ्यो र परिवारमा खुसी ल्याउने सपना थियो, तर सबै चकनाचुर भयो ।’




