नेपालगन्ज । कोहलपुरमा दसैंको राति फेला परेको टाउकोविनाको शवको रहस्यलाई दुई दिनपछि प्रहरीले समाधान गरेको छ । कोहलपुरका चन्द्रबहादुर कामीको शरीर फेला परेपछि अनुसन्धानमा जुटेको प्रहरीले अन्तत: शवको टाउको पनि फेला पारेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चन्द्रबहादुर कामीको टाउको उनकी बहिनी नाता पर्ने सुनिता परियारको घरको ट्वाइलेटको सेफ्टी ट्याङ्कीमा भेटिएको हो । घटना पछि डीएसपी आयुष्मान जोशीले घटना बारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
कामीको शव शनिबार राति कोहलपुर नगरपालिका ८ पिपिरी चोकदेखि करिब दुई किलोमिटर पूर्वको शितलनगरमा फेला परेको थियो । शवको टाउको भने घटनास्थलबाट करिब ५०० मिटर टाढा रहेको सुनिता परियारको घरमा भेटिएको हो ।
स्थानीय बासिन्दाले शनिबार राति करिब साढे १२ बजे कामीको टाउको नभएको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना अझै रहस्यमय रहेको भन्दै प्रहरीले थप अनुसन्धानलाई तिव्रता दिएको छ ।




