सिरहा । सिरहामा एक युवकको शव खेतमा फेला परेको छ । लहान नगरपालिका ३, रघुनाथपुरमा रहेको लक्ष्मण ललिता कुशवाह माध्यमिक विद्यालयको नजिकै एक युवकको शव भेटिएको प्रहरीले जनाएको छ ।
मृतक १८ वर्षीय मोहम्मद इमरान अन्सारी लहान नगरपालिका ४ का बासिन्दा थिए । उनको शव विद्यालयबाट ५० मिटर उत्तरतिर, स्थानीय जागेश्वर कामतको खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी विरेन्द्र पासमानले जानकारी दिए ।
प्रहरीका अनुसार, मृतक अन्सारीको शरीरमा कुनै चोट पटक देखिएको छैन । इमरानका दाई, कलाम अन्सारीले खेतमा घोप्टो परेको अवस्थामा उनको शव देखेका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा इमरानले लागुऔषध सेवन गरेको बुझिएको छ । उनी कसरी खेतमा पुगे र मृत्युको कारण के थियो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको डिएसपी पासमानले जानकारी दिए ।




