नवलपरासी । पश्चिम नवलपरासीमा करिब एक लाख ५० हजार क्यूफिट सालको काठ सडेर खेर जाने अवस्थामा पुगेको छ । डिभिजन वन कार्यालयका अनुसार जिल्ला वन डिभिजन कार्यालय हाताभित्र रहेको करिब एक करोड रुपैयाँ बराबरको काठ समयमै बिक्री नगरिएकाले सड्न थालेको हो ।
वन नीतिमा आवश्यक संशोधन नभएसम्म काठ बिक्रीमा समस्या भइरहने बताइएको छ । डिभिजन वन कार्यालयले दोस्रो पटक काठ बिक्री गर्ने तयारी गरेपनि नीतिगत अवरोधका कारण समस्या हल हुन सकेको छैन ।
काठ तथा फर्निचर व्यापारमा कमी आउँदा व्यवसायीले महँगो सालको काठ खरिद गर्न नसकेको बताइएको छ । स्थानीय व्यवसायीहरूले मुलुकभित्र उपलब्ध काठ सडेर खेर जाँदा विदेशबाट अर्बौं रुपैयाँका काठ र फर्निचर आयात भइरहने अवस्था प्रति चिन्ता व्यक्त गरेका छन् ।




