एजेन्सी । उत्तर म्यासेडोनियामा ६१ वर्षीया महिला बच्चा जन्माउने सबैभन्दा वृद्ध आमा बनेकी छन् । यस विषयमा स्कोप्जे युनिभर्सिटी क्लिनिक अफ गाइनेकोलोजी एन्ड अब्स्टेट्रिक्सका निर्देशक इरेना अलेक्सियोस्का पपेस्टिभले मंगलबार जानकारी दिएका हुन् ।
उनका अनुसार, नाम नखुलाइएकी ती महिला इन भिट्रो फर्टिलाइजेसनको सहायताले गर्भवती भएकी थिइन् । पपेस्टिभले भने, ‘६१ वर्षमा बच्चा जन्माउनु चिकित्सा क्षेत्रमा सीमाहरू तोडिएको प्रमाण हो ।’
गर्भावस्थाका दौरान चिकित्सकहरूले ती महिलालाई नजिकबाट निगरानी गरेका थिए । उनलाई उच्च रक्तचाप र मधुमेहजस्ता स्वास्थ्य समस्या भएपनि उपचारको कारण बच्चा सफलतापूर्वक जन्मिएको बताइएको छ । ती महिलाले विगतमा १० पटक इन भिट्रो उपचार गराएकी थिइन् ।
उत्तर म्यासेडोनियामा इन भिट्रो उपचारका लागि कुनै उमेर सीमा नरहेको अधिकारीहरूले जनाएका छन् । आमा र नवजात शिशु दुवैलाई मंगलबार अस्पतालबाट डिस्चार्ज गरिएको छ । बच्चाका बुबाको उमेर ६५ वर्ष रहेको जानकारी पनि दिइएको छ ।
उत्तर म्यासेडोनियाको प्रजनन दर २०२३ मा प्रति महिला १.४८ मात्र रहेको थियो । देशले १९९१ मा स्वतन्त्रता घोषणा गरेदेखि आर्थिक चुनौतीका कारण धेरै मानिसलाई बाहिर बसाइँ सर्नु परेको देखिएको छ । हाल मुलुकमा जनसंख्या करिब १८ लाख मात्र रहेको छ, जुन २०२१ को जनगणना अनुसार दुई दशकमा करिब १० प्रतिशतले घटेको हो ।




