गुल्मी । शुक्रबार साँझ गुल्मीमा गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश १००१ ज १३८५ नम्बरको गाडी बुटवलबाट देउरालीतर्फ जाँदै गर्दा मुसिकोट नगरपालिका ४, दजाकोटमा दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा रेसुङ्गा नगरपालिका ८ का ४५ वर्षीय रबिनकुमार श्रीसको ज्यान गएको छ । गम्भीर घाइते अवस्थामा उनलाई गुल्मी अस्पताल पुर्याइए पनि उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
दुर्घटनामा मृतक श्रीसका परिवारका सदस्यसमेत घाइते भएका छन् । उनकी पत्नी ३८ वर्षीय बसन्ती श्रीस र ८ वर्षीय छोरा एक्सन श्रीससहित गाडी चालक मुसिकोट नगरपालिका २, देउरालीका २४ वर्षीय दिपक सुनार, २० वर्षीय माधव आचार्य र ४३ वर्षीय गंगा भट्टराई पनि घाइते भएका छन् ।
प्रारम्भिक उपचारपछि सबै घाइतेलाई थप उपचारका लागि पाल्पा रेफर गरिएको छ । दुर्घटनाको कारण बारे अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।




