हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्र स्थित मनहरी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्ध महिलाको ज्यान गएको छ । घटनामा ७२ वर्षीया कान्छिमाया रुम्बा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
सोमबार साँझ ५ बजेतिर घर नजिकैको खोल्सामा बाघले आक्रमण गर्दा रुम्बा गम्भीर घाइते भएकी थिइन् । मृतक रुम्बा घाँस काट्नका लागि घर नजिकैको बारीमा गएकी थिइन् । उनी रातिसम्म नफर्किएपछि आफन्तहरूले खोजी थालेकोमा करिब ५०० मिटर टाढा शव फेला परेको प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।
घटना बारे प्रहरीलाई राति १० बजे मात्रै खबर प्राप्त भएको थियो । घटनास्थलमा अनुसन्धान जारी रहेको छ । यस क्षेत्रमा बाघ र हात्तीका आक्रमणको समस्याले स्थानीय जनतालाई त्रसित बनाएको छ ।




