मोरङ । झापा दमक नगरपालिका ७ का ४० वर्षीय विनोद थापाले आइतबार बिहान आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार थापाले प्रेमिकाले धोका दिएको कारण आत्मदाहको प्रयास गरेका हुन् ।
थापाले उर्लाबारी नगरपालिका ७ स्थित पश्चिम बस स्टेण्ड नजिकै रहेको अन्नपूर्ण खाजा घर नजिक पेट्रोल छर्केर लाइटर बाल्दै आफ्नै शरीरमा आगो लगाएका थिए । प्रारम्भिक अनुसन्धान अनुसार उक्त खाजा घर दमक ३ की २८ वर्षीया इन्द्र लिम्बूले सञ्चालन गर्दै आएकी छन् ।
आगो लागेपछि थापाको कपाल, घाँटी, हात लगायत शरीरका विभिन्न भाग जलेका छन् । हाल उनको अवस्था मध्यम रहेको र उर्लाबारीको अरनिको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस घटनाको अनुसन्धान भइरहेको डीएसपी जोशीले जानकारी दिए ।




