जनकपुरधाम । जनकपुरधामको रामानन्द चोकमा सोमबार राति दुई सरकारी गाडी एकापसमा ठोक्किँदा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री घाइते भएका छन् । करिब साढे ९ बजे भएको उक्त दुर्घटनामा मन्त्री शत्रुधनप्रसाद सिंह चढेको मधेश प्रदेश ०२-००१ झ ०१६५ नम्बरको गाडीमा प्र ०३-००१ झ ००९६ नम्बरको गाडीले ठक्कर दिएको हो ।
दुर्घटनामा मन्त्री सिंहसहित उनका गाडी चालक र सुरक्षाकर्मी घाइते भएका छन् । घाइते मन्त्रीको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकले मन्त्री सिंहको स्पाइनल हड्डीमा चोट लागेको जनाएका छन् ।
घटना बारे जानकारी लिन मुख्यमन्त्री सतिशकुमार सिंह अस्पताल पुगेका थिए । उनले मन्त्री सिंहको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र घटना बारे छानबिन गर्न धनुषा प्रहरीको डिएसपी नेतृत्वमा समिति गठन गरिएको जानकारी दिए ।
धनुषा प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहका अनुसार मन्त्री सिंहको गाडीलाई ठक्कर दिने गाडी खानेपानी डिभिजन कार्यालय, पर्साको हो । “मन्त्री सिंहसहित तीनै जनाको अवस्था सामान्य छ । घटनाको अनुसन्धान भइरहेको छ,” उनले भने ।
दुर्घटनामा मन्त्रीको गाडीको अगाडिको भागमा ठूलो क्षति पुगेको छ भने घाइते चालक र सुरक्षाकर्मीको पनि अस्पतालमा उपचार भइरहेको छ । घटना के कारणले भएको हो भन्ने बारे थप अनुसन्धान जारी छ ।




