धनगढी । कैलालीमा १५ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छन् । जोशीपुर गाउँपालिका ६ की १५ वर्षीया किशोरीलाई सामूहिक करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । घटना संलग्न रहेको अभियोग लागेका थप दुई जना फरार छन् ।
पक्राउ पर्नेमा सोही गाउँपालिका १ का १८ वर्षिय सुमन डगौरा र १८ वर्षकै कुशल चौधरी रहेका छन् । किशोरीलाई चार जनाले सामूहिक करणी गरेका बताइएको छ । मंसिर २२ गते करणी भएको भएपनि प्रहरीमा भने ढिलो गरी खबर आएको प्रहरीले जनाएको छ ।
करणीमा संलग्न रहेको आरोप लागेका १८ वर्षीय राजकुमार चौधरी र १९ वर्षीय आशिक चौधरी भने भागेर भारत गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कबिन्द्रसिंह बोहराले बताए । उनीहरूविरूद्ध जबरजस्ती करणी शीर्षकमा किटानी जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




