नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको सुनवल नगरपालिका २ अवरैयामा भएको दोहोरो हत्याको आरोपमा एक युवक पक्राउ परेका छन् । आफ्नै बुबा र छिमेकीको हत्या गरेको अभियोगमा २७ वर्षीय हेमराज थारूलाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको हो ।
हेमराजले कोदालो प्रहार गरेर आफ्ना ५० वर्षीय बुबा जय राम थारू र ७० वर्षीय छिमेकी नाथु धरिकारको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कोदालो प्रहारका कारण दुवै जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
हत्या भएको खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको टोलीले हेमराजलाई नियन्त्रणमा लिएको थियो । हाल घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




