जसले जसरी चिन्छन्, चिनुन – मैले चिनेको शेरबहादुर देउवा फरक थिए, फरक छन् । शेरबहादुर देउवाको प्रशंसा गर्ने वा बदख्वाईं गर्नेहरू, चाहे उनका निकटका हुन् वा टाढाका, मैले चिनेको शेरबहादुर मेरो भाषामा भन्नुपर्दा – सोझा व्यक्ति हुन्, जसलाई बङ्ग्याउनेहरूले बङ्ग्याएका मात्र हुन् ।
गिरीजा प्रसाद कोइरालाको ‘कोपभाजन’मा परेपछि कांग्रेस पार्टी नै फुटाउनु परेको सत्य कथाको भित्री पाटो कसैलाई थाहा छ भने त्यो व्यक्ति हुन्, पूर्णबहादुर खड्का ।
नजिकका सर्कलमा देउवासँग विमलेन्द्र निधिदेखि मिनेन्द्र रिजालसम्म थिए । कांग्रेस फुटेर तान्त्रिक कित्ताको बागडोर समालेका शेरबहादुर देउवालाई निस्वार्थ साथ दिने विश्वास पात्रको पहिलो नम्बरमा पनि पूर्णबहादुर नै थिए ।
बालकृष्ण खाँड देउवा निकट थिए भन्नेहरूले कुन गहिराइको कुवा खनेका थिए – त्यो त तिनैले जानून् । युवाबीच लोकप्रिय खाँड देउवाका विश्वास पात्र थिए भन्नेमा दुईमत छैन । तर खाँड नजिकका विश्वास पात्रहरू कुपात्र ठहरिए – र त्यसकै परिणाम अहिले बालकृष्ण खाँड भोगिरहेका छन् ।
स्पष्ट छ, देउवा र कोइराला खेमामा बाँडिएको नेपाली कांग्रेस एकता पछि पनि एकाकार हुन सकेन । देउवाले समेट्ने धेरै प्रयास गरेपनि कोइराला क्याम्पका ‘हुडार’हरूले कांग्रेसलाई कहिल्यै एकढिक्का हुन दिएनन् ।
गुट निर्माण र शक्ति दम्भमा गिरीजा प्रसाद कोइरालासँग तुलना गर्दा शेरबहादुर देउवा कमजोर देखिन्थे । तर देउवाको कमजोर मानसिकतालाई बलियो बनाउने काममा खटिएका व्यक्ति थिए – पूर्णबहादुर खड्का ।
पूर्णबहादुर खड्का सालिन स्वभावका, तर चतुर राजनीतिक योजनाकार हुन् । तेह्रौं महाधिवेशन सफल पार्ने सम्पूर्ण जिम्मेवारी शेरबहादुरले पूर्णबहादुरलाई सुम्पेका थिए ।
बलियो कोइराला क्याम्पसँग रणनीतिक योजना बनाएर सानेपामा देउवा पक्षको झण्डा गाड्ने अठोटका साथ अगाडि बढेका पूर्णबहादुरले तयार पारेको सचिवालयको सदस्यका रूपमा मैले पनि काम गर्ने अवसर पाएको थिएँ ।
त्यो सचिवालयको काम, कर्तव्य र अधिकार पूर्णबहादुरको निर्देशन र शेरबहादुरको निगरानीमा चल्थ्यो । यदाकदा विमलेन्द्र निधि र बालकृष्ण खाँडको हस्तक्षेप हुने कोसिस भएपनि, उनीहरूको दाल गल्ने स्थिति थिएन ।
पूर्णबहादुरसँगको दैनिक उठबसले हामी सचिवालयका सदस्यहरूलाई राजनीतिक दाउपेच र घटनाक्रम नजिकबाट बुझ्ने मौका मिल्थ्यो । पूर्णबहादुर मार्फत् शेरबहादुरसम्म पुग्ने बाटो हाम्रो लागि सहज थियो ।
खड्का निवास र देउवा निवास वरिपरि सक्रिय सचिवालय सदस्यहरूको समन्वय गर्ने जिम्मेवारी वसन्त प्रकाश उपाध्यायको थियो । प्रकाशचन्द्र परियार, बद्री सिग्देल, रामजी दाहाल, डीपी उपाध्याय, नवराज लम्साल लगायतका चलन चल्तीका पत्रकारहरू सचिवालयमा सक्रिय थिए ।
‘तेह्रौं महाधिवेशनले सानेपामा देउवा गुटको झण्डा गाड्नुपर्छ’ – यही एउटा उद्देश्य थियो । पूर्णबहादुर खड्काको योजनाले सफलता पायो, र तेह्रौं महाधिवेशनबाट शेरबहादुर देउवा सभापति बने ।
त्यही शेरबहादुरले आफ्नो उत्तराधिकारीका रूपमा पूर्णबहादुर खड्कालाई नै चिनाए – देउवाले जे गरे, ठिक गरे । प्रजातान्त्रिक संस्कारभित्र निरंकुश प्रवृत्तिको प्रतिनिधि आरजु राणाले हण्डराएका शेरबहादुर देउवा डडेलधुराका असिग्रामका प्रजातान्त्रिक योद्धा थिए – र रहिरहनेछन् ।






