धादिङ । प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा धादिङमा चुनावी माहोल तातेको छ । बजार, चोक र चिया पसलमा सम्भावित परिणामबारे बहस चुलिँदो छ भने राजनीतिक दलहरू घरदैलो अभियानमा व्यस्त छन् ।
दुई निर्वाचन क्षेत्र रहेको धादिङमध्ये क्षेत्र नम्बर २ यस पटक विशेष चासोको केन्द्र बनेको छ । यस क्षेत्रमा नेपाली कांग्रेसले केन्द्रीय सदस्य तथा पूर्व जिल्ला सभापति रमेश धमलालाई उम्मेदवार बनाएको छ । लामो समयदेखि संगठन र जनतासँग प्रत्यक्ष सम्बन्ध राख्दै आएका धमला अहिले विकास र समृद्धिको एजेन्डा लिएर मतदाता माझ सक्रिय छन् ।
संगठन, अनुभव र व्यवस्थापन क्षमता
पर्यटन व्यवसायमा स्थापित नाम बनेका धमला ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्व अध्यक्ष हुन् । पर्यटन क्षेत्रको नेतृत्व गर्दै उनले व्यवस्थापन, समन्वय र रोजगारी सिर्जनामा योगदान दिएको बताइन्छ । यही अनुभवलाई उनले अब राष्ट्रिय नीति निर्माण र क्षेत्रीय विकाससँग जोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्थानीय स्तरमा सडक पूर्वाधार सुधार, पर्यटन सम्भावनाको उपयोग, युवाका लागि रोजगारी अवसर विस्तार र शिक्षा स्वास्थ्य सेवाको पहुँच वृद्धि उनका प्राथमिक एजेन्डा बनेका छन् । घरदैलो अभियानका क्रममा उनी मतदातासँग प्रत्यक्ष संवाद गर्दै विकासका ठोस योजना प्रस्तुत गरिरहेका छन् ।
निरन्तरता र नविकरणको सन्देश
२०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसका रामनाथ अधिकारी निर्वाचित भएका थिए । तर यस पटक उनले चुनाव नलड्ने घोषणा गरेपछि कांग्रेसले नयाँ नेतृत्व अघि सारेको हो । धमलाको उम्मेदवारीलाई कांग्रेसभित्र निरन्तरता र नविकरणको संयोजनका रूपमा हेरिएको छ ।
१३ वटा पालिका रहेको धादिङमा क्षेत्र नम्बर २ अन्तर्गत सदरमुकाम धादिङ बेसीसहित एक नगरपालिका र ६ गाउँपालिका पर्छन् । विगतमा नेपाली कांग्रेस, नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी) बीच कडा प्रतिस्पर्धा हुने यस क्षेत्रमा यस पटक पनि बहुपक्षीय प्रतिस्पर्धाको संकेत देखिएको छ ।
मतदाता माझ सक्रिय उपस्थिति
गाउँ गाउँमा भेला, अन्तरक्रिया र घरदैलो कार्यक्रममार्फत धमला मतदातासँग नजिकिने प्रयासमा छन् । उनले विकासलाई राजनीतिक नाराभन्दा कार्यान्वयनको योजनासँग जोड्ने प्रतिबद्धता दोहोर्याउँदै आएका छन् ।
धादिङ २ मा यस पटकको निर्वाचन परम्परागत प्रतिस्पर्धाभन्दा पनि नेतृत्व र कार्य क्षमताको परीक्षणका रूपमा हेरिएको छ । यस्तो अवस्थामा रमेश धमलाको अनुभव, संगठनात्मक पकड र पर्यटन क्षेत्रको पृष्ठभूमिले उनलाई बलियो प्रतिस्पर्धीका रूपमा उभ्याएको छ ।
फागुन २१ को मत परिणामले धादिङ २ को भावी राजनीतिक दिशा तय गर्नेछ । अहिले भने चुनावी मैदानमा रमेश धमला विकास र स्थायित्वको सन्देशसहित अग्रसर देखिएका छन् ।






