सप्तरी । मधेस प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर चुनाव लडेका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहको जमानत जफत भएको छ । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा स्वाभिमान पार्टी गठन गरेर उम्मेदवार बनेका सिंहले कुल सदर मतको ५.६७ प्रतिशत मत मात्र पाएका छन् ।
सिंह यस क्षेत्रको मत परिणाममा चौथो स्थानमा सीमित भएका छन् । यस क्षेत्रबाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रामजी यादवले २८ हजार ४०४ मत पाउँदा पूर्व मुख्यमन्त्री सिंहले ३ हजार ५५७ मत पाएका छन् । ३४ जना उम्मेदवार रहेको यस क्षेत्रमा ३१ जनाको जमानत जफत भएको हो ।
यहाँ निर्वाचित उम्मेदवार बाहेक जनता समाजवादी पार्टी नेपालका उम्मेदवार उमेशकुमार यादव र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मात्र जमानत बचाउन सके । यादवले कुल सदर मतको २२.७२ प्रतिशत अर्थात १४ हजार २६३ मत पाउँदा राउतले १५.७४ प्रतिशत अर्थात ९ हजार ८८० मत पाएका छन् ।
यस क्षेत्रमा ६२ हजार ७८३ सदर मत थियो । मधेस प्रदेशबाट चार जना प्रदेशसभा सदस्यले राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार बन्दा बारा ४ मा रास्वपाबाट उम्मेदवार बनेका रहबर अन्सारी निर्वाचित भएका छन् ।
सप्तरी २ बाट उम्मेदवार बनेका पूर्व मुख्यमन्त्री सिंहले जमानत समेत बचाउन नसक्दा महोत्तरी ४ मा नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार रहेका भरतप्रसाद साह पराजित भएका छन् । उनको समेत जमानत जफत भएको हो । साहले सदर मतको ८.९६ प्रतिशत मत पाउँदै पाँचौ स्थानमा रहेका छन् । उनले ५ हजार ३३६ मत पाएका छन् ।
धनुषा १ मा नेकपा एमालेबाट रामचन्द्र मण्डल उम्मेदवार छन् । यस क्षेत्रमा रास्वपाका उम्मेदवारको उम्मेदवारी खारेज भएपनि मतपत्रमा पार्टीको छाप रहेकोमा सबैभन्दा बढी मत आएकाले निर्वाचन आयोगले हाल यस क्षेत्रको मत परिणाम घोषणा नगर्न निर्देशन दिएको छ ।




