रौतहट । रौतहट जिल्लाका चारवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका मध्ये १२८ जना उम्मेदवारको जमानत जफत भएको छ । कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा उनीहरूले मनोनयन दर्ता गर्दा राखेको धरौटी रकम जफत भएको हो ।
जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार चारवटै निर्वाचन क्षेत्रमा कुल १४२ जना उम्मेदवारले मनोनयन दर्ता गराएर चुनावी मैदानमा उत्रिएका थिए। तीमध्ये मात्र १४ जना उम्मेदवारले आवश्यक मत प्राप्त गर्दै जमानत जोगाउन सफल भएका छन् ।
निर्वाचन क्षेत्र नम्बर १ मा ३९ जना उम्मेदवारमध्ये ३४ जनाको जमानत जफत भएको छ । त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा २६ उम्मेदवारमध्ये २३ जनाको जमानत जफत भएको छ ।
यस्तै निर्वाचन क्षेत्र नम्बर ३ मा ४० उम्मेदवारमध्ये ३७ जनाको जमानत जफत भएको छ भने निर्वाचन क्षेत्र नम्बर ४ मा ३७ उम्मेदवारमध्ये ३४ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासले जानकारी दिए ।
निर्वाचन अधिकारी दासका अनुसार कानुनी प्रावधान अनुसार कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको धरौटी रकम जफत हुने व्यवस्था रहेको छ । सोही प्रावधान अनुसार रौतहटमा १२८ जना उम्मेदवारको धरौटी जफत हुँदा कुल १२ लाख ८० हजार रुपैयाँ नेपाल सरकारको राजस्वमा जम्मा भएको छ ।
विजयी उम्मेदवारसहित जमानत जोगाउन सफल भएका १४ जना उम्मेदवारले प्रक्रिया पुर्याएर माग गरेमा नियमानुसार धरौटी रकम फिर्ता गरिने पनि प्रमुख दासले स्पष्ट पारे ।




