वीरगंज । छिपहरमाई गाउँपालिका ५ भिस्वा निवासी २५ वर्षीय युवक भोज रामले पासो लगाएर आत्महत्या गरेका छन् । शुक्रबार राति उनले आत्महत्या गरेको र बिहान उनका बुबाले घटना बारेमा प्रहरीलाई जानकारी गराएका थिए ।
मृतक राम शुक्रबार राति भिस्वा प्रहरी चौकी अगाडि रहेको मदिरा पसलमा थिए । दैनिक राति २-३ बजे पसल बन्द गरेर घर फर्कने गरेका राम शनिबार बिहान घर नफर्केपछि उनका पिता किशुन राम पसलमा पुगेका थिए ।
पसलमा उनले छोरा पासो लगाएर मृत अवस्थामा झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । भिस्वा चौकी इन्चार्ज प्रदीपकुमार जयसवाल र इलाका प्रहरी कार्यालय, पोखरियाको टोलीले शवलाई शल्य परीक्षणका लागि नारायणी अस्पताल वीरगंज पठाएका थिए ।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा आत्महत्या भएको बताएको छ । अन्य कारण नखुलेको र घटना बारेमा अनुसन्धान जारी रहेको इन्चार्ज जयसवालले जानकारी दिए ।




