काठमाडौं । लोकसेवा आयोगले निजामती सेवा अन्तर्गत राजपत्र अनङ्कित द्वितीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका चौथो तहका विभिन्न पदहरूमा पदपूर्तिका लागि खुला तथा समावेशी प्रतिस्पर्धात्मक लिखित परीक्षाको विज्ञापन प्रकाशित गरेको छ ।
आयोगले सूचना नं. २०८८/०८२–८३ अनुसार चैत २५ गते विज्ञापन सार्वजनिक गर्दै योग्य उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको हो । प्रकाशित सूचना अनुसार निजामती सेवाका विभिन्न सेवा, समूह तथा उपसमूह अन्तर्गतका प्राविधिक र स्वास्थ्यतर्फका रिक्त पदहरूमा आन्तरिक प्रतिस्पर्धा (आ.प्र.), खुला तथा समावेशी आधारमा पदपूर्ति गरिनेछ ।
निर्धारित न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली (psconline1.psc.gov.np) मार्फत आवेदन दिनुपर्नेछ । आवेदन दिँदा आवश्यक विवरण सही रूपमा भर्नुका साथै तोकिएका कागजातहरू अपलोड गर्नुपर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ ।
आयोगले तोकिएको म्यादभित्र आवेदन दिन तथा आवश्यक प्रक्रिया पूरा गर्न सबै उम्मेदवारहरूलाई अनुरोध गरेको छ । साथै, परीक्षा सम्बन्धी विस्तृत विवरण आयोगको आधिकारिक वेबसाइटमार्फत हेर्न सकिने जनाएको छ ।






