धनुषा । धनुषाको सबैला नगरपालिका १२ रघुनाथपुरस्थित एक मन्दिरमा सुतिरहेका अवस्थामा एक व्यक्तिको हत्या भएको छ । मृतक हंसपुर नगरपालिका ३ मलहनियाका अन्दाजी ४५ वर्षीय बन्ठु राउत गडेरी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बिहीबार राति मन्दिरभित्र सुतिरहेको अवस्थामा उनीमाथि धारिलो हतियार प्रहार गरिएको र घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा संलग्न व्यक्तिको खोजी तथा पक्राउका लागि अनुसन्धान तीव्र पारिएको छ ।
गडेरीको स्थायी घर हंसपुर नगरपालिका ३ मलहनियामा भएपनि उनी केही समयदेखि सबैला नगरपालिका १२ रघुनाथपुरमा बस्दै ज्यालामजदुरी गर्दै आएका थिए । स्थानीयका अनुसार उनी केही दिनअघि मात्र भारतको पञ्जाबबाट फर्किएका थिए ।
दिनभर ज्यालामजदुरी गर्ने र राति मन्दिरमै बास बसेर पूजापाठ गर्ने गरेको स्थानीयले बताएका छन् । घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।






