मोरङ । मोरङको लेटाङ नगरपालिका १ स्थित एक रिसोर्टमा महिलालाई नशालु पदार्थ सेवन गराई ज्यान मार्ने धाकधम्की समेत दिई जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका ५ बस्ने २५ वर्षीया सोनुमा लिम्बु, केराबारी गाउँपालिका ८ बस्ने ५० वर्षीय कमल बहादुर आले मगर र सुन्दरहरैंचा नगरपालिका १० बस्ने ३८ वर्षीय डम्बर खतिवडा पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार पीडित महिलालाई तीनै जनाको मिलेमतोमा नशालु पदार्थ सेवन गराई लेटाङ १ स्थित एक रिसोर्टमा लगिएको र त्यहाँ ज्यान मार्ने धाकधम्की दिई डम्बर बहादुर खतिवडाले जबरजस्ती करणी गरेको आरोप छ ।
घटनासम्बन्धी जाहेरी तथा सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लेटाङले तीनै जनालाई पक्राउ गरी मोरङ जिल्ला अदालतमा उपस्थित गराएको थियो ।
अदालतबाट जबरजस्ती करणी मुद्दामा ५ दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीले घटनाका सम्बन्धमा थप तथ्य तथा प्रमाण संकलन गरिरहेको जनाएको छ ।






