वीरगन्ज । वीरगन्ज महानगरपालिकाले पानी निकासका लागि गरेको नाला तथा कुलो निर्माणको काम व्यवस्थित नहुँदा हुलाकी सडकअन्तर्गत छपकैयादेखि एकीकृत जाँच चौकी (आईसीपी) गेटसम्मको सडक अस्तव्यस्त बनेको छ ।
सडकमा माटो थुपारिएपछि आवागमन प्रभावित हुनुका साथै सवारी साधन जाममा पर्ने समस्या बढेको छ । स्थानीयका अनुसार केही दिनअघि आईसीपीको उत्तरतर्फ रहेको जग्गाको पानी निकासका लागि महानगरपालिकाले कुलो निर्माण गरेको थियो ।
कुलो खन्ने क्रममा निस्किएको माटो सडकमा थुपारिएपछि सडक साँघुरिएको छ । यसले गर्दा व्यस्त सडकमा सवारीसाधन सञ्चालन गर्न कठिनाइ भइरहेको छ । सडकमा थुपारिएको माटोका कारण वर्षा हुँदा हिलाम्मे हुने र घाम लाग्दा धुलो उड्ने समस्या देखिएको छ ।
यसबाट सवारी चालक, यात्रु तथा सडक आसपासका बासिन्दा प्रभावित भएका छन् । सडकको दुरवस्थाले हलुका सवारी साधन दुर्घटनामा पर्ने जोखिमसमेत बढाएको स्थानीयको गुनासो छ ।
आईसीपीको उत्तरतर्फ सुगौली आसपासका सयौँ बिघा खेतीयोग्य जमिनमा पानी निकासको उचित व्यवस्था नहुँदा बर्सेनि डुबानको समस्या हुने गरेको थियो । कुलो निर्माण भएपछि खेतबारीमा जम्ने पानी निकास गर्न सहज भएको र स्थानीयले राहत महसुस गरेको बताइएको छ ।
तर, डुबानको समस्या समाधान गर्ने क्रममा सडकमा माटो थुपारिँदा अर्को समस्या सिर्जना भएको स्थानीयको भनाइ छ । उनीहरूका अनुसार पानी निकासका लागि कुलो निर्माण गर्नु आवश्यक भए पनि त्यसबाट निस्किएको माटो व्यवस्थापन गर्न र सडकलाई पूर्ववत् अवस्थामा फर्काउन सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।
स्थानीयले सडकमा थुपारिएको माटो तत्काल हटाउन, सडक सम्याउन तथा पानी निकासको उचित व्यवस्था मिलाउन महानगरपालिकासँग माग गरेका छन् ।
साथै, सडकमा हुने जाम, धुलो र वर्षाका कारण उत्पन्न जोखिम न्यूनीकरण गरी आवागमन सहज बनाउन उनीहरूले आग्रह गरेका छन् । पानी निकासको समस्या समाधानसँगै सडकको नियमित सञ्चालन र सुरक्षामा समेत ध्यान दिनुपर्ने स्थानीयको भनाइ छ ।




