काठमाडाैं । अमेरिकाले अनुदानमा नेपाललाई उपलब्ध गराएको १ लाख ६ सय २० डोज फाइजर खोप काठमाडाैं आइपुगेको छ ।
कोभ्याक्स सुविधा अन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) मार्फत उपलब्ध गराइएको फाइजर खोप आज (सोमबार) बिहान कतार एअरवेजको विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।
अमेरिकाबाट आउने खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी किशोर–किशोरीलाई लगाइने स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।
तिहार र छठ पर्व सकिएपछि खोप कार्यक्रम सुरु हुने जनाइएको छ । अमेरिकाबाट आगामी पुसमा थप ६० लाख डोज फाइजर खोप ल्याउने तयारी छ । त्यो खोप आएपछि बालबालिकालाई पनि लगाइने सरकारको तयारी छ ।
फाइजर खोप नेपाल आएको पहिलोपटक हो । यसअघि अमेरिकाले गत जुलाईमा १५ लाख ३० हजार डोज जोन्सन एन्ड जोन्सनको खोप पठाएको थियो । फाइजर खोप ९५ प्रतिशत प्रभावकारी रहेको अनुसन्धानबाट पुष्टि भएको छ ।




