काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । उक्त प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावती तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । दिउँसो सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । रातिको समयमा पनि हल्कादेखि मध्यम वर्षा र धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौंको तापक्रम न्यूनतम तीन दशमलव ६ र अधिकतम तापक्रम १५ दशमलव दुई डिग्री सेल्सियस छ ।
हिमपातपछि त्रिभुवन राजपथ अवरुद्ध
त्रिभुवन राजपथ अन्तर्गत पर्ने मकवानपुर जिल्लाको सीमभञ्ज्याङ र अघोरमा हिउँ पर्नाले हेटौँडा–काठमाडौंतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको छ । गए रातिदेखि बाक्लो हिउँ परेपछि आज बिहान सवा ७ बजेदेखि यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त स्थानमा अहिले हिउँ परिरहेकाले काठमाडौंबाट हेटौँडातर्फ र हेटौँडाबाट काठमाडौंतर्फ जाने विभिन्न सवारीसाधन सञ्चालन गर्दा दुर्घटना हुने सम्भावनाको जोखिम देखिएकाले यातायात सञ्चालनमा रोक लगाएको हो । उहाँले मौसम सुधार भएमा आज दिउँसो अपराह्नसम्ममा हिउँ पन्छाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो ।
काठमाडौंमा वर्षा, चन्द्रागिरिमा हिमपात
राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा बिहानदेखि हिमपात सुरु भएको छ । रातिदेखि परेको वर्षासँगै आज बिहानैदेखि चन्द्रागिरि डाँडामा हिमपात सुरु भएको हो ।
चिसो मौसममा प्रायः हिमपात हुने चन्द्रागिरिमा यो वर्ष पहिलो पटक हिउँ परेको हो । हिउँले चन्द्रागिरि डाँडा सेताम्य भएको छ । चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले बिहान हिमपात सुरु भएपछि हिउँ हेर्न र मनोरञ्जन लिन आउने पर्यटकको घुइँचो लागेको जानकारी दिनुभयो ।
चन्द्रागिरि डाँडाका साथै यहाँ रहेको भालेश्वर मन्दिर वरपर तथा रिसोर्ट परिसरमा अहिले बाक्लो हिँउ जम्मा भएको छ । आज देशभर मौसम बदली भई देशैभरका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमपात भएको बताइएको छ ।
देशका कतिपय स्थानमा गए रातिदेखि नै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि गए रातिदेखि वर्षा भएको छ । रातिदेखिको वर्षा अहिले पनि जारी छ । वर्षाका कारण अहिले यहाँ निकै चिसो बढेको महसुस गरिएको छ ।
हिमपातले भीमदत्त राजमार्ग अवरुद्ध
डडेल्धुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लाका उच्च भेगमा मङ्गलबार रातिदेखि हिमपात सुरु भएको छ । हिमपातका कारण भीमदत्त राजमार्ग र जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध बनेका छन् ।
सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गको हगुल्टे र साहुखर्क क्षेत्रमा रातिदेखि हिमपात भएपछि यातायात अवरुद्ध छ । हिउँ परेपछि तराई–पहाडका जिल्लाका लागि गुडेका सवारीसउाधन राजमार्गमै रोकिएका छन् । यात्रु बाटोमै अलपत्र परेको बताइएको छ ।
मङ्गलबार बेलुकादेखि पानी पर्न सुरु भएसँगै रातिदेखि हिमपात भएको हो । भीमदत्त राजमार्गको साहुखर्क र हगुल्टेमा आज बिहानदेखि सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो ।
सडक क्षेत्रको हिउँ पन्छाउन डोजर पठाइएको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नबलबहादुर मल्लले बताउनुभयो । जिल्ला प्रहरीको टोली पनि त्यसतर्फ गएको छ । डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुलाका उच्च भेगमा हिमपात सुरु भएसँगै चिसो बढेको छ ।
बैतडीमा भारी हिमपात
बैतडी र दार्चुलामा गए रातिदेखि हिमपात भइरहेको छ । बैतडीको अनारखोली, खोड्पे, सतबाँझ श्रीभावर, गाँजरी, बाजपानी, ढोल्यामोड र देहिमाडौँ तथा दार्चुलाको ब्याश, राप्ला, घुसा र खण्डेश्वरीमा हिमपात भएको छ । हिमपातका कारण यहाँका राजमार्गसमेत बन्द छन् ।
अनारखोली, भालुमारे खोडपे क्षेत्रमा परेको हिमपातका कारण दशरथचन्द राजमार्ग अवरुद्ध छ । बाजपानी, ढोल्यामोड, खोडपे क्षेत्रमा परेको हिउँका कारण जयपृथ्वी राजमार्गमा पनि सवारीसाधन चल्न नसकेको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “अझै हिउँ पर्ने क्रम जारी छ, यातायातका साधन चल्न सकेका छैनन् ।” हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ । वर्षासँगै हिमपात भएपछि किसान भने खुशी भएका छन् । यस वर्ष समयमै हिउँ परेकाले गहुँ लगायतका हिउँदेबाली सप्रिने भन्दै किसान खुसी भएका हुन् ।
अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित
गए रातिदेखि लगातार परेको पानीका कारण जाजरकोट, रुकुम पश्चिम र डोल्पाको जनजीवन प्रभावित भएको छ । उपल्लो डोल्पा, जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको उच्च भागमा हिमपात जारी छ ।
हिमपातसँगै अधिकांश ठाउँको फोन सेवासमेत प्रभावित भएको छ । जाडोका कारण जनजीवन कष्टकर भएको डोल्पाको कुम्ली विद्यालयका शिक्षक जयकृष्ण हमालले जानकारी दिनुभयो ।
बिहानै घाँस सङ्कलन गर्ने काम ठप्प भएपछि पशुचौपायलाई खुवाउने आहाराका लागि समस्या भएको स्थानीयले बताएका छन् । चिसो अत्यधिक बढेपछि पठनपाठन प्रभावित बनेको छ । नियमित पानी परेपछि यातायात सेवासमेत प्रभावित भएको छ ।




